नेभिगेशन
राजनीति

कोशी सरकारको बजेट : ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबर, पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड

धरान । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । बजेट चालू आर्थिक वर्षको भन्दा १२.७४ प्रतिशतले बढी हो ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पूँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बजेट ल्याएका छन् । 

मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, संघबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपुरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब बेहोरिने उल्लेख गरे ।

पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड

कोशी प्रदेश सरकारले पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले पालिका जोड्ने सडकहरु निर्माणको लागि ४ अर्ब रुपैयाँ र जनता आवासलाई ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । कानून निर्माण, शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा ९४ करोड बजेट विनियोजन गरेको छ ।

खानेपानीमा ६ अर्ब २८ करोड 

प्रदेश सरकारले खोनपानी, सिंचाई तथा उर्जा क्षेत्रको विकासका लागि ६ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खानेपानीतर्फ बहुवर्षे खानेपानीको लागि २४ करोड, २ सय खानेपानी आयोजनाको लागि २७ करोड, प्रदेशका ५६ निर्वाचन क्षेत्रमध्ये ३८ क्षेत्रमा प्रति क्षेत्रमा १ करोडको खानेपानी आयोजना र १८ निर्वाचन क्षेत्रमा जलउत्पन्न र खानेपानीसँग सम्बन्धित १ करोडका आयोजनामा ५६ करोड विनियोजन गरेको छ ।  

यस्तै जल उत्पन्न प्रकोप नियन्त्रण र विपद व्यवस्थापनका लागि ६२ करोड ५३ लाख विनियोजन गरिएको छ ।

पर्यटन क्षेत्रमा ३ अर्ब ४९ करोड 

प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख, पदमार्गमा आधारित पर्यटन प्रवर्धनका लागि १२ करोड ७७ लाख विनियोजन गरेको छ । 

शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड

प्रदेश सरकारले शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

छोरी कार्यक्रमको लागि ७ करोड, अपाङ्गता रोकथाम तथा संरक्षणको लागि १६ करोड ५० लाख, बौद्धिक अपाङ्गता तथा अटिजम बालबालिकाका लागि १ करोड, सांकेतिक भाषाको अधिकार प्रत्याभूति गर्न १६ करोड, सांकेतिक भाषा स्रोत कक्षाको लागि १ करोड, १ सय वडा विद्यालयमा डिजिटल बोर्डबाट पढाइ सुरु गर्न १० करोड विनियोजन गरेको बताए । 

यस्तै ज्योतिष शास्त्र, वास्तु तथा तान्त्रिक विधिको अध्ययन गरिने बताए । मनमोहन प्राविधिक विश्वविद्यालयका लागि २० करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले धनकुटामा चिकित्सा शास्त्र अध्ययन सुरु गर्ने घोषणा गरेको छ ।

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि २३ करोड विनियोजन गरेको छ । वैजनाथ क्रिकेट रंगशालाको निर्माणको लागि ५ करोड, समुदायमा रहेका मौलिक ज्ञान, सिप र प्रविधि अनुसन्धान गर्न २७ करोड रुपैयाँ पनि विनियोजन गरेको छ ।

कृषि क्षेत्रमा 

प्रदेश सरकारले कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ । 

प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले कृषिमा आत्मनिर्भर बन्न र कृषकहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिएको उल्लेख गरे । 

बजेट कृषि पूर्वाधार, सिँचाइ, सहुलियतपूर्ण ऋण, बीउबिजन वितरण र बजार व्यवस्थापनमा खर्च गरिने उल्लेख छ ।

प्रादेशिक सञ्चार प्रतिष्ठानलाई ४ करोड 

कोशी प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठानलाई ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति