नेभिगेशन
राजनीति

कोशी प्रदेश भूगोलबाट रास्वपा केन्द्रीय सदस्यमा पारसमणि गेलालको उम्मेदवारी

धरान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा कोशी प्रदेश भूगोलबाट केन्द्रीय सदस्यमा पारसमणि गेलालले उम्मेदवारी घोषणा गरेका छन् । 

उदयपुर-१ बाट प्रतिनिधि सभा सदस्य एवं अर्थ समिति सदस्य गेलालले देशमा सुशासन, समृद्धि र सकारात्मक परिवर्तनको अभियानलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

गेलालले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै संगठनलाई थप बलियो बनाउन आफूले केन्द्रीय तहबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । 

उनले कोशी प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्य पदमा आफूलाई अमूल्य मत प्रदान गर्न प्रतिनिधिसँग अनुरोध गरेका छन् ।

“आज म तपाईंसँग केवल मत होइन, विश्वास र सहकार्यको अपेक्षा लिएर आएको छु,” उनले भनेका छन्, “पार्टीको मूल्य, सिद्धान्त र संगठनलाई अझ सशक्त बनाउन इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” 

उनले आफ्नो राजनीतिक तथा संगठनात्मक यात्रामा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको विश्वास, साथ र समर्थनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । 

प्रतिनिधि सभा सदस्य गेलाल यसअघि कोशी प्रदेश अधिवेशनमा सभापतिको आकाङ्क्षी थिए । सहमतिका लागि भन्दै उनले नाम फिर्ता लिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति