नेभिगेशन
राजनीति

तस्करी र गुण्डागर्दीको अन्त्य गर्दै सुशासनको छाप छाड्ने गृहमन्त्री गुरुङको दाबी

धरान, २० असार । गृहमन्त्री सुधन गुरुङले मुलुकमा बढ्दो तस्करी र गुण्डागर्दीको जालो तोड्दै सरकारले सुशासनको बलियो छाप छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

शनिबार विराटनगर हुँदै धरान आइपुगेका गृहमन्त्री गुरुङले अवैध कारोबारको अन्त्य नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे ।

स्थानीयवासीसँगको भेटघाटका क्रममा उनले खुल्ला सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको औंल्याए। 

'तस्करी होस् वा गुण्डागर्दी, यसको अन्त्य म चाहन्छु। सुशासनका हरेक पक्षमा नागरिकले महसुस गर्ने गरी सकारात्मक छाप छाड्नुपर्छ ।' उनले भने । 

आगामी साउनदेखि गृह मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको विशेष सुधार योजनालाई सफल बनाउन उनले तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए।

धरानको विकास र बीपी प्रतिष्ठानमा चासो

धरान भ्रमणका क्रममा गृहमन्त्री गुरुङले स्थानीय विकास निर्माणका काममा पनि चासो देखाएका छन्। उनले धरानस्थित ट्राफिक प्रहरीको भवन निर्माणका लागि बजेट छुट्याइसकिएको र निर्माण कार्य छिट्टै अघि बढ्ने जानकारी दिए।

त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा प्रहरी चौकी बसिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले समाधानको विकल्प खोजिने बताए। 

उनले यसअघि धरानमा भएको 'सेभ घोपा' आन्दोलनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए। प्रतिष्ठानमै पुगेका मन्त्री गुरुङलाई रास्वपा नेतृ सरिन तामाङले ताप्लेजुङमा भएको बलात्कारको घटनाबारे स्मरण गराउँदै तत्काल न्याय र सुरक्षाको माग गरेकी थिइन्।

विराटनगर र सीमा क्षेत्रको स्थलगत अनुगमन

धरान आउनुअघि उनले मोरङका विभिन्न स्थानमा आकस्मिक छड्के अनुगमन गरेका छन्। 

उनले जिल्ला प्रशासन कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, रानी नाका र एकीकृत जाँच चौकी (आईसीपी) को निरीक्षण गर्दै सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले यसअघि पनि यस्तै 'अन्डरकभर' शैलीमा सीमा क्षेत्रको अनुगमन गर्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति