नेभिगेशन
राजनीति

वराहक्षेत्रको विकासबारे हर्क साम्पाङले भने - 'मन्त्री, प्रधानमन्त्रीले ढाँट्यो भने फाल्टो कुरा हो, मैले ढाँटेको छैन

वराहक्षेत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भौतिक विकास मन्त्री सुनिल लम्सालले वराहक्षेत्रवासीले माग गरेका सबै योजना ठेक्का प्रक्रियामा जाने आश्वासन दिएको भन्दै वराहक्षेत्रका जनताका माग पूरा हुने बताएका छन् ।

सुनसरीको वराहक्षेत्र–५ स्थित कालाबन्जरमा श्रमदान र जनसहयोगबाट निर्माण गरिएको जेनजी चौतारी/ज्येष्ठ नागरिक चौतारी उद्घाटनपछि बोल्दै साम्पाङले भौतिक विकास मन्त्री सुनिल लम्सालको भनाइ उद्धृत गर्दै भने, "तपाईंले माग्नु भएको सबै कुरा ठेक्का लाग्छ।"

त्यसपछि उनले आफूले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता दोहोर्याउँदै भने, "छातीमा हात राखेर कसम खाएर हिँड्ने मान्छे हुँ, कसम खानु पनि पर्दैन हर्क साम्पाङले बोलेपछि। बालेन शाह, प्रधानमन्त्रीज्यूले के भन्नू भा छ अरे, त्यो हर्क साम्पाङले भनेको कुरा सबै गर्दिनु भन्या छ रे, अब प्रधानमन्त्रीले ढाँट्यो भने फाल्टो कुरा हो, भौतिक विकास मन्त्रीले ढाँट्यो भने फाल्टो कुरा हो, तर मैले चाहिँ ढाँटेको छैन।"

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य साम्पाङले वराहक्षेत्रवासीलाई आफूले उनीहरूको माग सरकारसमक्ष निरन्तर उठाइरहेको बताए। उनले भने, "तपाईंहरूको सबै कुरा माथि राखेको छु। सरकार चलाउने गरीको भोट हामीलाई प्राप्त नभएकोले हामी सरकारमा छैनौं। सरकारलाई सही ट्र्याकमा हिंडाउन हामीले काम गरिरहेका छौं। हर्क साम्पाङ चुपो लागेर बस्ने मान्छे होइन। प्रश्नदेखि भाग्ने मान्छे होइन।"
उद्घाटन समारोहमा साम्पाङले शहीदप्रति समर्पित कविता पनि वाचन गरेका थिए।

वराहक्षेत्र–५ को कालाबन्जरमा निर्माण गरिएको जेनजी चौतारीमा ४५ जना जेनजी शहीदको नामावली समावेश गरिएको छ। श्रमदान र स्थानीयवासीको सहयोगबाट निर्माण गरिएको उक्त चौतारीलाई ज्येष्ठ नागरिकको विश्रामस्थलका रूपमा समेत विकास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति