नेभिगेशन
राजनीति

राष्ट्रिय उद्योगमा सुधारको सङ्केत देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले लामो समयदेखि बन्द, घाटा र समस्यामा रहेका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारको सङ्केत देखिन थालेको बताएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सरकारले सुरुदेखि नै सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिएको उल्लेख गर्दै कानुन कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट केही उद्योगले आशालाग्दा परिणाम दिन थालेको दाबी गरेका हुन् ।

उनका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षमा नेपाल औषधि लिमिटेडले ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य लिएको छ । सरकारले तयार गरिरहेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको शाहको भनाइ छ । सोही लक्ष्यअनुसार चालु वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने योजना रहेकामा २५ प्रकारका औषधिको उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । 

यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्री शाहले बताएका छन् । उनका अनुसार तान मर्मत गरेपछि परीक्षण उत्पादन सुरु भइसकेको छ र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको छ । परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने योजना छ ।

नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा पनि सुधार आएको प्रधानमन्त्री शाहको दाबी छ । उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो ।

उक्त अवधिमा नेपाल वायुसेवा निगमको सिट उपयोगिता ८६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको उपयोगिताभन्दा यो ६ प्रतिशत बढी भएको शाहले उल्लेख गरेका छन् । जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको किस्ताबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँसमेत यही अवधिमा भुक्तानी गरिएको उनले बताएका छन् ।

दुग्ध विकास संस्थानमा पनि सुधारका प्रयास अघि बढाइएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । उनका अनुसार किसानलाई भुक्तानी गर्न बाँकी रकमको चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको छ । आठ महिनाको अवधिमा ७२ करोड रुपैयाँसम्म रहेको भुक्तानी चक्रलाई अहिले करिब ३५ करोड रुपैयाँमा सीमित गरिएको उनको दाबी छ ।

किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि संस्थानको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र दैनिक औसत राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको शाहले बताएका छन् । कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको उनको भनाइ छ । दुग्ध विकास संस्थानले चाँडै खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको पनि शाहले उल्लेख गरेका छन् ।

यसैगरी, सिंहदरबार वैद्यखाना विकास समितिको उत्पादन र कारोबारमा समेत वृद्धि भएको प्रधानमन्त्री शाहको दाबी छ । सरकार गठन भएयता वैद्यखानाले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको उनले उल्लेख गरेका छन् ।

गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको शाहले बताएका छन् । हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने दिशामा अघि बढेको उनको भनाइ छ ।

वैद्यखानाले हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ भने चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५० प्रकार पुर्‍याउने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमै पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योगमा देखिन थालेको सुधारलाई सरकारको इमान्दार प्रयास, कानुन कार्यान्वयन र सामूहिक कार्यको परिणामका रूपमा व्याख्या गरेका छन् । रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योग तथा संस्थानमा समेत यस्तै प्रयासबाट नयाँ जीवन भर्न सकिने विश्वास बलियो भएको उनको भनाइ छ ।

देशमा उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति