नेभिगेशन
राजनीति

एक करोड श्रमदाता बनाउने हर्क साम्पाङको घोषणा, गत निर्वाचनमा ३ लाख ८५ हजार ७०८ मत पाएका थिए  

धरान । पछिल्लो समय संगठन विस्तारमा देश दौडाहा गरिरहेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले एक करोड श्रम दाता (सदस्य) बनाउने बताएका छन् । 

शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले संगठन विस्तारको अभियान चलिरहेको बताए । उनले  शनिबार धरानस्थित सुम्निमा पारुहाङ प्रतिमा निर्माण स्थलमा आफू आउन नपाउने जानकारी गराउँदै संगठन विस्तारका लागि झापाको अर्जुनधारा जाने उल्लेख गरेका छन् । 

सोही क्रममा सांसद साम्पाङले पार्टीको सदस्यता (श्रमदाता) १ करोड पुर्‍याउने बताएका हुन् । उनले कहिलेसम्म १ करोड श्रमदाता बनाउने भने उल्लेख गरेका छैनन् । यद्यपि उनको श्रम अभियान भने जारी छ । उनी उपस्थित भएका प्रत्येक ठाउँमा नयाँ सदस्यता वितरण गरिएको देखिन्छ ।

श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार पार्टीले झण्डै २ लाख श्रमदाताहरुलाई साधारण सदस्यता वितरण गरेको जानकारी दिए ।


अन्य दलको तथ्याङ्क 

तथ्याङ्क अनुसार नेपाली कांग्रेसको क्रियाशील सदस्यको संख्या सबैभन्दा धेरै छ । झण्डै आठ लाखको हाराहारीमा कांग्रेसले क्रियाशील सदस्यता वितरण गरेको देखिन्छ । यस्तै नेकपा एमालेका झण्डै सात लाख संगठित सदस्य छन् । सोही हाराहारीमा नेपाली कम्युनिष्ट पार्टीका सदस्य रहेको अनुमान छ ।   

नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार ७ लाख ८२ हजार योग्य सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ मात्र अद्यावधिक भएको छ । १४औं महाधिवेशनको  ८ लाख ६६ हजार २०२ सदस्य संख्याभन्दा १ लाख ७८ हजार २७१ ले कम भएको छ । डिजिटल प्रणालीमा भने ६ लाख ८७ हजार १३१ कृयाशील सदस्यको विवर इन्ट्री भएको छ । 

यस्तै नेकपा एमालेको गत राष्ट्रिय महाधिवेशनमा अद्यावधिक तथ्याङ्कअनुसार सङ्गठित सदस्यको सङ्ख्या ६ लाख ६७ हजार ६ सय ३० छ ।

पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक रहेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग हाल संगठित सदस्यहरूको एकीकृत र यकिन तथ्याङ्क छैन । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित दर्जनभन्दा बढी दल र समूहहरूबीच एकता भएर यो पार्टी बनेको हुनाले सदस्यहरूको एकीकृत नवीकरण र अभिलेखीकरणको काम अझै पूरा भइसकेको छैन । यद्यपि नेपाली कांग्रेस र नेकपा एमालेकै हाराहारीमा यो दलको संगठित सदस्य छन् । 

रास्वपाको सदस्यता संख्या ५ लाख २३ हजार ४ सय ६५ पुगेको छ । रास्वपा समेत निरन्तर संगठन विस्तारको अभियानमा छ । 

कसको मत कति ?

प्रतिनिधि सभाको गत फागुन २१ गते सम्पन्न निर्वाचनको मत परिणामअनुसार खसेको मतमध्ये १ करोड ७ लाख ६९ हजार ५४३ मत सदर भयो । ६ पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरे ।  

जम्मा सदर मतको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ५४ हजार ९४८ मत अर्थात् ४७.८ प्रतिशत पाएको थियो । 

नेपाली कांग्रेसले १७ लाख ५५ हजार ४७९ अर्थात् १६.२ प्रतिशत प्राप्त गर्‍यो ।  नेकपा एमालेले १४ लाख ५२ हजार ६३७ अर्थात् १३.४ प्रतिशत प्राप्त गरेको थियो ।  यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ९ हजार ५३० अर्थात् ७.५ प्रतिशत प्राप्त गरेको थियो ।  श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७०८ अर्थात् ३.५ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ३० हजार २२७ अर्थात् ३ प्रतिशत मत पाएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति