नेभिगेशन
राजनीति

विविधतालाई समृद्धिको आधार बनाउने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वरूपलाई सामाजिक पहिचानसँगै विकास र समृद्धिको आधारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, कला, मौलिक ज्ञान, सीप र परम्पराको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

कार्कीले कोशी प्रदेशको विविधतालाई ‘शक्ति र सम्पत्ति’का रूपमा व्याख्या गर्दै सबै समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्नु सरकारको साझा दायित्व भएको बताएका छन् ।
‘विविधता र मौलिकताले कोशी प्रदेशलाई विशिष्ट र समृद्ध बनाएको छ,’ उनले भनेका छन्, ‘नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय, समावेशिता र सांस्कृतिक अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध छ ।’
उनका अनुसार प्रदेश सरकार स्थापना कालदेखि नै सबै जातजाति, भाषा र धर्मको संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रममार्फत काम गर्दै आएको छ । आदिवासी जनजाति समुदायले सदियौँदेखि संरक्षण गर्दै आएको मौलिक भाषा, संस्कृति, कला र जीवनशैलीले नेपालको सामाजिक पहिचानलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले विश्व आदिवासी दिवसले विविधताबीचको एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले भाषा र संस्कृतिको संरक्षणमा मात्र सीमित नरही आदिवासी जनजाति समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि आगामी दिनमा प्रदेश सरकारले थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
विश्व आदिवासी दिवसका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति