नेभिगेशन
राजनीति

मन्त्रालयको संख्यामा एमाले–नेकपा सहमति जुटेन, अन्तिम टुंगो मंगलबार लाग्ने

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन बसेको नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीचको छलफल निष्कर्षविहीन भएको छ । मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि दुई दलले भोलि मंगलबार पुनः छलफल गर्ने भएका छन् ।

नेकपा कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईका अनुसार नेकपाले सरकारमा चारवटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ । एमाले भने तीनवटा मन्त्रालय दिन सकिने अडानमा छ ।

मन्त्रालयको संख्यामा सहमति नजुटेपछि भोलि दुवै दलका संसदीय दलका नेताहरूबीच छलफल गरेर विषय टुंग्याउने सहमति भएको राईले बताए ।

‘हामीले चार मन्त्रालय भनेका छौँ, उहाँहरूले तीनको कुरा गर्नुभयो । त्यसैले आज कुरा मिलेन,’ राईले भने, ‘एमाले नेता शेरधन राईको जहाजको समय भएकाले पनि आज थप छलफल हुन सकेन । अब भोलि हिक्मतकुमार कार्की र इन्द्र आङ्बो बसेर यसलाई टुंग्याउने कुरा भएको छ ।’

मन्त्रालयको संख्यामा सहमति नभए पनि अन्य केही विषयमा भने दुई दलबीच सहमति बनेको राईले जानकारी दिए । उनका अनुसार साझा न्यूनतम नीति तथा कार्यक्रम निर्माणका लागि नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको छ ।

यसैगरी, यसअघि ल्याइएको बजेट पुनरावलोकन गर्ने विषयमा पनि दुवै दल सहमत भएका छन् । अड्किएका विधेयक तथा कानुनलाई आपसी सहमतिमा पारित गर्ने र प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल सकारात्मक रहेको राईले बताए ।

मन्त्रालयको संख्या र भागबन्डामा सहमति जुटेपछि नयाँ सरकार गठन तथा सत्ता साझेदारीको बाँकी प्रक्रिया अघि बढाउने तयारी एमाले र नेकपाको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति