नेभिगेशन
राजनीति

कांग्रेसका मन्त्रीको राजीनामापछि प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको ‘ब्रिफिङ’, रिक्त मन्त्रालय आफैँ सम्हाल्ने

विराटनगर । नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन् । 

मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेका बेला मुख्यमन्त्री कार्की बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेर पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् ।

विराटनगर–३ स्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा कांग्रेसका मन्त्रीहरूको राजीनामा, रिक्त मन्त्रालयको अवस्था र नयाँ मन्त्री नियुक्तिको तयारीबारे छलफल भएको थियो । भेटपछि आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशको पछिल्लो राजनीतिक अवस्था र नयाँ मन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखलाई जानकारी गराइएको बताए ।

‘कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछिको अवस्था र सोमबारसम्म नयाँ मन्त्री नियुक्त गरी मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा कुराकानी भएको छ,’ लिङ्थेपले भने ।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले नै सम्हालेका छन् । प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार रिक्त मन्त्रालयको कार्यभार मुख्यमन्त्रीले सम्हाल्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।

केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता सहकार्यको सहमति बनेसँगै कोशी प्रदेशमा पनि कांग्रेस सरकारबाट बाहिरिएको हो । 

अब मुख्यमन्त्री कार्कीले एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितका साझेदार दललाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । सोमबारसम्म नयाँ मन्त्री नियुक्त गरी प्रदेश सरकारलाई पूर्णता दिने तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति