नेभिगेशन
राजनीति

कोशीमा एमाले–नेकपा भागबन्डा टुंगियो, नेकपाले पायो आर्थिक मामिलासहित ४ मन्त्रालय

विराटनगर । कोशी प्रदेशमा नयाँ सत्तासमीकरणअनुसार सरकार विस्तारको बाटो खुलेको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच ९ मन्त्रालयको भागबन्डा टुंगिएसँगै एमालेले ५ र नेकपाले ४ मन्त्रालय पाउने सहमति भएको छ ।

सहमति अनुसार नेकपाले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय पाउने भएको छ । मन्त्रालयको संख्या टुंगिए पनि कुन–कुन मन्त्रालय कसले सम्हाल्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।

नेकपाभित्र चार मन्त्रालयको आन्तरिक भागबन्डासमेत मिलाइएको छ । पूर्वमाओवादी केन्द्र पक्षले तीन र पूर्वनेकपा एकीकृत समाजवादी पक्षले एक मन्त्रालय लिने सहमति भएको बताइएको छ । कोशी प्रदेशसभामा नेकपाका १७ सांसद रहेकामा पूर्वमाओवादी केन्द्रका १३ र पूर्वएकीकृत समाजवादीका चार सांसद छन् । 

यसअघि मन्त्रालय भागबन्डाका विषयमा प्रदेश तहमा पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन । नेकपाले चार मन्त्रालयसहित एक राज्यमन्त्रीको दाबी गर्दै आएको थियो भने एमालेले कम मन्त्रालय दिने प्रस्ताव गरेको थियो । प्रदेश तहमा सहमति नजुटेपछि विषय केन्द्रीय नेतृत्व तहसम्म पुगेको थियो । 

अब मन्त्रालयको जिम्मेवारी र मन्त्रीको नाम टुंग्याएर सोमबार नयाँ मन्त्रीलाई शपथ गराउने तयारी गरिएको छ । नेकपाले मन्त्रीको नाम टुंगो लगाउन संसदीय दलको बैठकसमेत बोलाएको छ ।

मन्त्रालय भागबन्डा टुंगिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा नयाँ सत्ता गठबन्धनअनुसार मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति