नेभिगेशन
राजनीति

धरानमा नेकपा संगठन सुदृढीकरण अभियान : पुराना नेतादेखि नयाँ पुस्तासम्मलाई जोड्ने तयारी

धरान । आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरानमा संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्ने भएको छ ।

पार्टीको धरान उपमहानगर समितिको शनिबार सम्पन्न बैठकले वडा तहसम्म संगठनलाई थप मजबुत र चलायमान बनाउने निर्णय गरेको हो ।

पार्टी कार्यालय पेरिस खोल्सीमा उपमहानगर संयोजक सिपी बजगाईको अध्यक्षतामा बसेको बैठकमा पार्टीका कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले संगठनलाई पुनर्गठित गर्दै आगामी निर्वाचनमा पार्टीको राजनीतिक हैसियत बलियो बनाउन कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे ।

1000228286-1786877812.jpg
बैठकमा उपमहानगर, सुनसरी जिल्ला र प्रदेश समितिका सदस्यहरूले इन्चार्ज राईबाट सपथ ग्रहण गरेका थिए । विगतका कमजोरी र अनुभवबाट पाठ सिक्दै वडा तहसम्म संगठन विस्तार गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

राईले कोशी प्रदेशको पछिल्लो राजनीतिक परिस्थितिका कारण नेकपा सरकारमा सहभागी हुनुपरेको बताए । कांग्रेसभित्रको विवाद र एमालेसँगको सम्बन्धमा आएको चिसोपनका कारण कांग्रेस सरकारबाट बाहिरिएको अवस्थामा एमालेसँग मिलेर सरकार गठन नगरे प्रदेश सभा विघटन भई मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउने उनले बताए ।

मध्यावधि निर्वाचनमा जाँदा राज्यलाई थप आर्थिक भार पर्ने भएकाले त्यसलाई रोक्न नेकपा सरकारमा सहभागी भएको राईको भनाइ थियो । उनले बदलिँदो राजनीतिक परिस्थितिलाई बुझेर संगठन निर्माणमा थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे ।

नेकपा केन्द्रीय सदस्य तथा धरानका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले उत्पीडित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने नेतृत्व कम्युनिस्ट पार्टीले गर्दै आएको दाबी गरे । उनले ‘नयाँ’को नाममा राजनीतिक मुखुण्डो लगाएर आएका शक्तिहरूबाट सचेत रहनुपर्ने बताए ।

बेघाले आफूले नेतृत्व गरेको ठाउँमा मजदुर, सुकुम्बासी, महिला, आदिवासी जनजातिलगायत विभिन्न जातजाति तथा धर्म–संस्कृतिका समुदायमाथि विभेद हुन नदिने बताए। राज्य र स्थानीय सरकारबाट सबै समुदायले समान व्यवहार र सम्मान पाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

1000228287-1786877844.jpg
नेकपा केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज सरस्वती पोख्रेलले दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाइन्। सुकुम्बासीलाई उठिबास लगाउने तथा विभिन्न शीर्षकमा कर वृद्धि गरेर जनतालाई थप भार पार्ने काम भइरहेको उनको भनाइ थियो।

जनताका वास्तविक समस्या र सवाललाई केन्द्रमा राखेर पार्टीका राजनीतिक तथा संगठनात्मक गतिविधि अघि बढाउनुपर्ने पोख्रेलले बताइन्।

बैठकका क्रममा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका बम देवान, सर्वजित राई, विजय पौडेल, दिलकुमार लिम्बू, प्रेम तामाङलगायत करिब चार दर्जन पुराना नेताहरूलाई अबिर, खादा र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा राममान्डुपा राई, उमिता बराइली, रेवतिरमण राई, चोत्लुङलगायत नेताहरूले पनि सम्बोधन गरेका थिए। उनीहरूले संगठनलाई प्रभावकारी बनाउँदै कार्यकर्तामा नयाँ उत्साह र आत्मविश्वास पैदा गर्नुपर्नेमा जोड दिए।

बैठकले जनतासँगको सम्बन्ध विस्तार, संगठनलाई चलायमान बनाउने तथा आगामी स्थानीय र प्रदेश निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति