नेभिगेशन
राजनीति

कोशीमा आज नयाँ मन्त्रीको शपथ, नेकपाले टुंग्यायो मन्त्री हुनेको नाम

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच बनेको नयाँ सत्ता समीकरणअनुसार आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । साउनको पहिलो साता दुई दलबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज अपराह्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शपथ ग्रहणका लागि आवश्यक तयारी सुरु भइसकेको छ ।

एमाले र नेकपाबीच भएको मन्त्रालय बाँडफाँटअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र नेकपाले चार मन्त्रालय पाउने सहमति भएको छ । सहमतिअनुसार नेकपाले भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन, पर्यटन तथा सामाजिक विकास वा कृषि मन्त्रालयमध्ये चार मन्त्रालयको नेतृत्व पाउनेछ । मन्त्रीको नाम र राजनीतिक समीकरणअनुसार मन्त्रालयको जिम्मेवारीमा केही हेरफेर हुन सक्ने बताइएको छ ।

नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाउने विषयमा प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्क नेम्बाङसहितका नेताहरूबीच छलफल भएको थियो ।

स्रोतका अनुसार जीवन आचार्य, गोम्बु शेर्पा र खिनु लङ्वा लिम्बुको नाम मन्त्रीका लागि करिब निश्चित भएको छ । बाँकी एक पदका लागि भने गीता तिम्सिना र सपना दर्जीबीच प्रतिस्पर्धा रहेको बताइएको छ । सार्वजनिक लेखा समितिका सभापति राजन किराती र पूर्वमन्त्री गणेश उप्रेतीले समेत मन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् ।

पार्टीभित्र यसअघि मन्त्री भइसकेकालाई पुनः सरकारमा नपठाउन एक पक्षले दबाब दिँदै आएको छ । नेकपाको १७ सदस्यीय संसदीय दलमा गोम्बु शेर्पा, विद्या चाम्लिङ, गीता तिम्सिना, राजन किराती, सपना दर्जी र सम्झना तामाङ अहिलेसम्म मन्त्री बनेका छैनन् ।

यसअघि एमाले–कांग्रेस गठबन्धन भत्किएपछि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले साउन २५ गते राजीनामा दिएका थिए । त्यसयता रिक्त रहेका मन्त्रालयको कार्यभार मुख्यमन्त्री कार्की आफैँले सम्हाल्दै आएका छन् ।

नयाँ सत्ता समीकरणअनुसार आज हुने मन्त्रिपरिषद् विस्तारसँगै लामो समयदेखि रिक्त रहेका मन्त्रालयले नयाँ नेतृत्व पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति