नेभिगेशन
राजनीति

कोशी सरकारमा चार नयाँ मन्त्री, एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार अपराह्न आयोजित समारोहमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । सत्ता साझेदारीसम्बन्धी एमाले र नेकपाबीच भएको सहमतिअनुसार नेकपालाई चार मन्त्रालय र एक राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

नेकपाबाट खिनु लाङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, जीवन आचार्यलाई पूर्वाधार विकास, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री नियुक्त गरिएको छ । सपना दर्जीलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

साउन पहिलो साता एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी सरकारमा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय तथा एक राज्यमन्त्री पाउने समझदारी भएको थियो । सोही सहमतिअनुसार मुख्यमन्त्री कार्कीले नेकपालाई सरकारमा सहभागी गराएका हुन् ।

नवनियुक्त मन्त्रीमध्ये खिनु लाङ्वा लिम्बूले नेकपाबाट सरकारको नेतृत्व गरेकी छन् । पूर्वाधार विकासमन्त्री जीवन आचार्य यसअघि पनि कोशी प्रदेश सरकारमा पर्यटन तथा आर्थिक मामिलामन्त्री भइसकेका थिए । उनी नेकपाका संयोजक पुष्पकमल दाहालका ज्वाइँसमेत हुन् । शेर्पा, तिम्सिना र दर्जी भने पहिलोपटक सरकारमा सहभागी भएका हुन् ।

एमालेका मन्त्रीको जिम्मेवारी हेरफेर

मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री कार्कीले एमालेबाट सरकारमा रहेका केही मन्त्रीको जिम्मेवारीसमेत परिवर्तन गरेका छन् ।

इन्द्रमणि पराजुलीलाई स्वास्थ्य तथा रामकुमार महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि पराजुली आन्तरिक मामिला तथा कानुन र महतो सामाजिक विकासमन्त्री थिए ।

यसैगरी यसअघि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ । एमालेका विदुर लिङ्थेप आर्थिक मामिला तथा चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारीमा यथावत् छन् ।

यसअघि एमाले–कांग्रेस गठबन्धनबाट सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले साउन २५ गते राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसले सम्हालेका मन्त्रालयको कार्यभार मुख्यमन्त्री कार्कीले आफैं सम्हाल्दै आएका थिए । एमाले र नेकपाबीचको नयाँ सत्ता समीकरण कार्यान्वयन भएसँगै ती मन्त्रालयमा नयाँ नेतृत्व आएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति