नेभिगेशन
राजनीति

कोशी प्रदेशको मन्त्रीमा प्रचण्डका ज्वाइँको ‘ह्याट्रिक’

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चार मन्त्री थपिँदा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यले तेस्रोपटक मन्त्री बन्ने अवसर पाएका छन् ।

एमालेका तर्फबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै आचार्यलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभामा कांग्रेस–एमाले गठबन्धन भत्किएपछि नेकपा सरकारमा सहभागी भएको हो । नेकपाबाट चार मन्त्री नियुक्त हुँदा आचार्य पनि मन्त्री बनेका हुन् । उनी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालका श्रीमान् हुन् ।

प्रदेश सरकारमा आचार्यको मन्त्री यात्रा २०७९ पुस २९ गतेबाट सुरु भएको थियो । त्यतिबेला हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा उनी पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए । 

सरकार परिवर्तनसँगै पाँच महिनापछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने । थापा नेतृत्वको सरकारमा पनि आचार्यले निरन्तरता पाए । २०८० असार २४ गते उनी आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।

अहिले पुनः हिक्मतकुमार कार्की नेतृत्वकै सरकारमा उनी भौतिक पूर्वाधारमन्त्री बनेका छन् । प्रदेश सरकारमा पार्टीको सहभागिता हुँदा हरेकपटक मन्त्री बन्ने अवसर पाएपछि आचार्यको मन्त्री यात्रा ‘ह्याट्रिक’ बनेको हो ।

आचार्य मोरङ–६ (१) बाट कोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सोमबार नेकपाबाट आचार्यसहित खिनु लङ्वा लिम्बू, गीता तिम्सिना र गोम्बु शेर्पा मन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति