नेभिगेशन
राजनीति

गोम्बु शेर्पा तोकिए, कोशी सरकारका प्रवक्ता

 विराटनगर । कोशी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई प्रवक्ता तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता शेर्पा दुई दिनअघि मात्रै मन्त्री नियुक्त भएका थिए ।

बैठकले प्रदेश लोकसेवा आयोगको सातौँ प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्दै तयारी अघि बढाउने निर्णय पनि भएको छ । उक्त निर्णयबारे प्रवक्ता शेर्पाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाइको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले तीनवटा समिति गठन गरेको छ । राजनीतिक तथा प्रशासनिक समितिको संयोजकमा खानेपानीमन्त्री तिलचन पाठकलाई तोकिएको छ । सदस्यमा पर्यटनमन्त्री खिनु लङ्वा, आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप र सामाजिक विकासमन्त्री गिता तिम्सिना छन् ।

कानुन, न्याय तथा प्रदेश मामिला समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई तोकिएको छ । समितिका सदस्यमा पर्यटनमन्त्री खिनु लङ्वा, आर्थिक मामिलामन्त्री विदुर लिङ्थेप र स्वास्थ्यमन्त्री इन्दमणि पराजुली छन् ।

आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यलाई तोकिएको छ । सदस्यमा तिलचन पाठक, विदुर लिङ्थेप र उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतो छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति