नेभिगेशन
राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

९२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीको पक्षमा ५७ मत परेको छ । विपक्षमा २२ मत परेको छ भने चार जना सांसद तटस्थ बसेका छन् । मतदानमा ८३ जना सांसद सहभागी भएका थिए ।

मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले) र नेकपाका सांसदहरूले समर्थन गरेका थिए । एमालेका उपसभामुखसहित ४० जना र नेकपाका १७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार जना सांसद मतदान प्रक्रियामा तटस्थ बसेका छन् । जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

सरकारको निरन्तरताका लागि मुख्यमन्त्री कार्कीले तेस्रोपटक प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालका उपलब्धि प्रस्तुत गर्दै पछिल्लो नौ वर्षमा प्रदेश सरकारले एक हजार किलोमिटर सडक र १५० वटा पुल निर्माण गरेको दाबी गरेका थिए ।

विश्वासको मत प्राप्त गरेसँगै कार्की नेतृत्वको कोशी प्रदेश सरकार तत्कालका लागि सुरक्षित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय