नेभिगेशन
राजनीति

वराहक्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

चतरा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वराहक्षेत्रलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिने बताएका छन् ।

बिहीबार बृहत्तर वराहक्षेत्र विकास समिति, चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले आगामी वर्षमा सञ्चालन गरिने विकास योजनाका विषयमा सुझावसमेत दिएका हुन् ।

उनले कोशी प्रदेश सरकारले वराहक्षेत्र परिसरलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि बढाएको बताए । वराहक्षेत्रमा आवश्यक पूर्वाधार विकास गरी यहाँ हुने कुम्भमेलालाई राष्ट्रिय गौरवको धार्मिक पर्यटन उत्सवका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीलाई बृहत्तर वराहक्षेत्र विकास समितिका पदाधिकारी तथा कर्मचारीले स्वागत तथा सम्मान गरेका थिए ।

1000236676-1789633702.jpg
यसैबीच कोशी प्रदेश सरकारले वराहक्षेत्र क्षेत्रलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्ने तयारी अघि बढाएको जनाएको छ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिना र मन्त्रालयका सचिव विष्णुप्रसाद कोइरालाले बुधबार बृहत्तर वराहक्षेत्र विकास समिति, चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै बराहक्षेत्रको पर्यटन विकास र आगामी वर्ष सञ्चालन गरिने कार्यक्रमबारे सुझाव दिएका हुन् ।

मन्त्री तिम्सिनाले वराहक्षेत्र परिसरलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने काम प्रदेश सरकारले अघि बढाएको जानकारी दिइन् । उनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिइने बताइन् ।
निरीक्षणका क्रममा पर्यटन तथा धार्मिक सङ्ग्रहालय निर्माणलगायत आगामी वर्ष सञ्चालन गरिने योजनाका विषयमा समेत छलफल भएको थियो । सचिव कोइरालाले कार्यालयका गतिविधि तथा आगामी योजनाबारे जानकारी लिँदै आवश्यक सुझाव दिएका थिए ।

सो अवसरमा संस्कृति तथा पुरातात्त्विक महाशाखाका प्रमुख गोपाल दाहालसहित मन्त्रालयको सचिवालय टोलीको पनि सहभागिता थियो । बृहत्तर वराहक्षेत्र विकास समिति चतरा कार्यालयले मन्त्री तिम्सिना, सचिव कोइराला, महाशाखा प्रमुख दाहाल तथा सचिवालय टोलीलाई स्वागत तथा सम्मान गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्