विराटनगर । कोशी प्रदेशका ६५ सामुदायिक विद्यालयमा रिक्त विद्यालय नर्सको पदपूर्ति प्रक्रिया रोकिएपछि विद्यार्थीले विद्यालयमै पाउने प्राथमिक उपचार र स्वास्थ्य परामर्श प्रभावित भएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाले ६५ विद्यालय नर्ससहित विभिन्न स्वास्थ्य सेवाका कर्मचारी करारमा नियुक्त गर्न विज्ञापन खोलेको पाँच दिनमै प्रक्रिया स्थगित गरेको थियो । विज्ञापन स्थगित भएको एक महिना पुग्न लाग्दासमेत पदपूर्ति प्रक्रिया अघि बढेको छैन ।
यसको प्रत्यक्ष असर मोरङको सुन्दरहरैँचा–१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयमा देखिएको छ । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा ५ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्याका आधारमा यो कोशी प्रदेशकै ठूलो सामुदायिक विद्यालय हो ।
विद्यालयमा गत असारदेखि नर्स छैनन् । विद्यार्थीलाई अचानक रिंगटा लाग्दा, चोटपटक लाग्दा वा किशोरीमा महिनावारीसम्बन्धी समस्या देखिँदा तत्काल प्राथमिक उपचार र स्वास्थ्य परामर्श दिने जनशक्ति विद्यालयमा छैन ।
कोशी प्रदेश सरकारले २०७६ सालमा सुकुना माविमा विद्यालय नर्सिङ सेवा कार्यक्रम सुरु गरेको थियो । स्वास्थ्य निर्देशनालय धनकुटामार्फत पाँचौँ तहकी एक नर्स विद्यालयमा खटाइएको थियो । नर्सको दरबन्दी गत असारदेखि रिक्त भएपछि विद्यालयले मन्त्रालय र निर्देशनालयसँग पटक–पटक पदपूर्तिको माग गर्दै आएको छ । तर, तीन महिना बितिसक्दा पनि नर्स पठाइएको छैन ।
‘दैनिक ५५ सय विद्यार्थी आउने विद्यालयमा स्वास्थ्यकर्मी नहुँदा कति समस्या हुन्छ, सहजै अनुमान गर्न सकिन्छ,’ प्रधानाध्यापक हिक्मत बस्नेतले भने, ‘नर्स पठाइदिन स्वास्थ्य मन्त्रालय र निर्देशनालयमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भएको छैन ।’
नर्स कार्यरत हुँदा विद्यार्थीको सामान्य स्वास्थ्य समस्या तत्काल सम्बोधन गर्ने, प्राथमिक उपचार गर्ने, सरसफाइ, पोषण, किशोरकिशोरी स्वास्थ्य र महिनावारी स्वच्छताबारे परामर्श दिने गरिएको थियो । अहिले ती सेवा प्रभावित भएका छन् ।
सुकुना माविको अवस्था एउटा विद्यालयको मात्र होइन । प्रदेशका १४ जिल्लाका ६५ सामुदायिक विद्यालयमा विद्यालय नर्सको पद रिक्त छ । लामो समयदेखि रिक्त रहेका ४३ विद्यालयमा नर्स नियुक्त हुन बाँकी रहेकै अवस्थामा थप २२ विद्यालयमा कार्यक्रम विस्तार गरिएको थियो । त्यसपछि ती सबै विद्यालयमा नर्स पदपूर्ति गर्नुपर्ने अवस्था बनेको हो ।
विज्ञापन निकालियो, पाँच दिनमै रोकियो
रिक्त पदपूर्ति गर्न स्वास्थ्य निर्देशनालय धनकुटाले भदौ ४ गते पाँचौँ तहका ६५ विद्यालय नर्ससहित विभिन्न स्वास्थ्य सेवाका कर्मचारी करारमा नियुक्तिका लागि विज्ञापन खोलेको थियो ।
विज्ञापनमा १३ मेडिकल अधिकृत, तीन फिजियोथेरापिस्ट, दुई मेडिकल ल्याब टेक्नोलोजिस्ट, एक अस्पताल व्यवस्थापक, एक विद्यालय नर्स संयोजक, एक मनोसामाजिक परामर्श अधिकृत, एक सर्भिलेन्स मेडिकल अधिकृत, एक आईटी अधिकृत र एक बायोमेडिकल इन्जिनियरका लागि पनि आवेदन मागिएको थियो ।
तर विज्ञापन प्रकाशित भएको पाँच दिनमै प्रक्रिया रोकियो । भदौ १ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए । पराजुलीले भदौ ३ गते पदभार सम्हाले ।
पदभार सम्हालेको छैटौँ दिन भदौ ९ गते स्वास्थ्य मन्त्रालयले निर्देशनालयलाई विज्ञापन स्थगित गर्न निर्देशन दिएको थियो । त्यसपछि स्वास्थ्य निर्देशनालयले आठौँ तहको मेडिकल अधिकृतबाहेक अन्य पदका लागि दरखास्त संकलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी सार्वजनिक गर्यो ।
निर्देशनालयको सूचनामा ‘प्राविधिक कारणवश’ प्रक्रिया स्थगित गरिएको उल्लेख छ । त्यसपछि पुनः विज्ञापन खुलाउने वा पदपूर्ति अघि बढाउनेबारे अर्को सूचना आएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक सागर प्रसाईं मन्त्रालयबाट आएको पत्रकै आधारमा प्रक्रिया रोकिएको बताउँछन् ।
‘मन्त्रालयबाट तत्कालका लागि स्थगित गर्नू भन्ने निर्देशन आएपछि हामीले रोकेका हौँ,’ उनले भने, ‘रिक्त पदपूर्तिका विषयमा मन्त्रालयबाट पुनः कुनै नयाँ निर्देशन वा पत्राचार आएको छैन । नीतिगत निर्णय नभएसम्म निर्देशनालयले प्रक्रिया अघि बढाउन सक्दैन ।’
विज्ञापन स्थगित भएपछि ६५ विद्यालयमा नर्स पठाउने प्रक्रिया फेरि अनिश्चित बनेको छ ।
कहाँ कति नर्स अभाव ?
स्वास्थ्य निर्देशनालयका अनुसार लामो समयदेखि नर्सको पद रिक्त रहेका ४३ विद्यालयमध्ये संखुवासभाका सात विद्यालयमा नर्स छैनन् । खोटाङ, ओखलढुंगा र ताप्लेजुङका पाँच–पाँच, मोरङका चार, भोजपुर र पाँचथरका तीन–तीन तथा तेह्रथुमका दुई विद्यालयमा नर्सको दरबन्दी रिक्त छ ।
उदयपुर, धनकुटा, सुनसरी, झापा र इलामका एक–एक विद्यालयमा पनि नर्सको दरबन्दी रिक्त रहेको निर्देशनालयले जनाएको छ ।
यसैबीच तत्कालीन स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको कार्यकालमा १० जिल्लाका थप २२ विद्यालयमा कार्यक्रम विस्तार गर्ने निर्णय भएको थियो । ती विद्यालयमा पनि नर्स नियुक्त हुन सकेका छैनन् ।
थपिएका विद्यालयमध्ये झापामा सात, मोरङमा पाँच, सुनसरी र ताप्लेजुङमा दुई–दुई तथा ओखलढुंगा, तेह्रथुम, भोजपुर, धनकुटा, उदयपुर र संखुवासभामा एक–एक विद्यालय छन् ।
पुराना रिक्त दरबन्दी र नयाँ थपिएका विद्यालयसमेत जोड्दा प्रदेशभर ६५ विद्यालयमा नर्स नियुक्त गर्नुपर्ने अवस्था छ ।
मन्त्री भन्छन्– प्रणाली परिवर्तन गर्न विज्ञापन रोकिएको हो
स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले भने पदपूर्तिको प्रणाली नै परिवर्तन गर्ने तयारी भएकाले विज्ञापन रोकिएको बताएका छन् । उनका अनुसार धनकुटास्थित स्वास्थ्य निर्देशनालयबाट प्रदेशभरका विद्यालयका लागि एकैपटक नर्स नियुक्त गर्दा दुर्गम क्षेत्रमा कर्मचारी टिकाउन समस्या देखिएको छ ।
‘ठूलो संख्यामा विद्यालय नर्स रिक्त छन् । प्रदेशबाट भर्ना गर्दा दरबन्दी भएका दुर्गम जिल्लामा कर्मचारी नजाने समस्या देखियो,’ उनले भने, ‘अब जिल्ला र स्थानीय तहबाटै पदपूर्ति हुने गरी कार्यविधि संशोधन गर्दै छौँ । त्यसैले तत्कालका लागि विज्ञापन स्थगित गरिएको हो ।’
मन्त्रालयले सम्बन्धित पालिकालाई सशर्त बजेट उपलब्ध गराउने र पालिकाले आवश्यकताअनुसार नर्स छनोट गरी विद्यालयमा खटाउने मोडेल अघि बढाउने तयारी गरेको उनले बताए ।
‘स्थानीय तहको अपनत्व हुन्छ, दक्ष जनशक्ति विद्यालयमै टिकाउन सकिन्छ र कार्यक्रम पनि दिगो हुन्छ,’ पराजुलीले भने ।