नेभिगेशन
राजनीति

भाषा विधेयक तत्काल ल्याउन सांसद श्रेष्ठको माग

विराटनगर । कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले मातृभाषाको संरक्षण र पुस्तान्तरणका लागि भाषा विधेयक तत्काल प्रदेशसभामा ल्याउन सरकारसँग माग गरेकी छन् । उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश प्रवेश गर्ने नाकामै पर्यटकीय गन्तव्यबारे जानकारी दिने व्यवस्था गर्न पनि आग्रह गरेकी छन् ।

प्रदेशसभामा बोल्दै श्रेष्ठले भाषा इतिहास, संस्कृति र पहिचानसँग जोडिएको विषय भएको बताइन् । 'यहाँका हरेक भाषा इतिहास, संस्कृति र पहिचान हुन् । कतिपय मातृभाषा संरक्षण र पुस्तान्तरणको चुनौतीमा छन्,' उनले भनिन् ।

भाषा संरक्षण, प्रवर्द्धन, अभिलेखीकरण र आवश्यक प्रयोगका लागि स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 'भाषा विधेयक ढिला नगरी तत्काल प्रदेशसभामा ल्याएर प्राथमिकतामा राख्न अनुरोध गर्दछु,' श्रेष्ठले भनिन् ।

श्रेष्ठले कोशी प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यको व्यवस्थित प्रचारमा पनि जोड दिइन् । पाथीभरा, हलेसी, वराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर र बुढासुब्बालगायतका धार्मिकस्थल प्रदेशका महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको उनले बताइन् ।

भारतको जोगबनी र पानीट्याङ्की नाकाबाट कोशी प्रदेश प्रवेश गर्ने पर्यटकले नजिकका पर्यटकीय गन्तव्यबारे सहजै जानकारी पाउने व्यवस्था गर्नुपर्ने श्रेष्ठले बताइन् । उनका अनुसार प्रवेश नाकामै गन्तव्यको जीपीएस लोकेसन, दूरी, मार्ग र पर्यटकीय विवरणसहितको क्यूआर कोड राखिनुपर्छ ।

'धर्म र भाषालाई पर्यटनसँग जोड्न सके कोशी प्रदेशको समृद्धि र विकासको नयाँ आधार बन्न सक्छ,' श्रेष्ठले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति