नेभिगेशन
राजनीति

धरानको के के स्कुलका प्रधानाध्यापकको दुर्व्यवहार : सांसद कायस्थद्वारा ध्यानाकर्षण

धरान । धरानको विद्यालयमा अभिभावकमाथि दुर्व्यवहारको विषय प्रदेश सभामा उठेको छ । कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थले सदन र सरकारको ध्यानाकर्षण गराएकी छन् । 

धरान–१५ स्थित के के इन्टरनेश्नल स्कुल नामक विवादित विद्यालयका प्रधानाध्यापकले अभिभावकमाथि गरेको भनिएको दुर्व्यवहारको विषय कोशी प्रदेश सभामा उठेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाप्रति प्रदेश सभा बैठकमा सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको हो ।

बैठकमा विद्यालयमा शुल्क तिर्न नसकेको विषयलाई लिएर विद्यार्थी तथा अभिभावकमाथि अपमानजनक व्यवहार हुने गरेको विषय उठाइएको थियो । धरानको घटनामा समेत शुल्क तिर्न नसकेको विषयलाई लिएर प्रधानाध्यापकले अभिभावकलाई ‘किन बच्चा जन्माएको?’ भन्दै अपमान गरिएको विषय सांसद कायस्थले उठाएकी हुन् ।

विद्यालयलाई विद्यार्थीले शिक्षा र संस्कार सिक्ने स्थानका रूपमा लिने भए पनि अभिभावकमाथि नै यस्तो व्यवहार हुनु गम्भीर विषय भएको सांसद कायस्थले प्रदेश सभा बैठकमा बताइन् । 

अभिभावकले आफ्ना बालबालिकाको भविष्य निर्माणका लागि विद्यालय पठाउने भएकाले विद्यालय नेतृत्वबाट हुने व्यवहारले बालबालिकामा समेत असर पर्न सक्ने भन्दै उनले सदनमा चिन्ता व्यक्त गरेकी छन् ।  उक्त घटना निन्दनीय रहेको उल्लेख गर्दै प्रदेश सरकार, सम्बन्धित निकाय तथा पदाधिकारीलाई घटनाको तत्काल सत्यतथ्य छानबिन गर्न सदनमा आग्रह गरिएको छ । छानबिनबाट दोषी देखिए कारबाही गर्न र घटनाको वास्तविक विवरण सार्वजनिक गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति