नेभिगेशन
समाचार

पाँच करोडको लागतमा इटहरी जनता क्याम्पसमा छात्रवास निर्माण हुँदै

इटहरी ।  जनता बहुमुखी क्याम्पस इटहरीले छत्रवास निर्माणका लागि शिलान्यास गरेको छ ।  सञ्चालक समिति अध्यक्ष विकास केसीले शनिबार शिलान्यास गरे । 

छात्रवास झण्डै ५ करोड रुपैयाँको लागतमा निर्माण हुने लागेको हो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजनाअन्तर्गत पहिलो किस्ताबापत एक करोड ४२ लाख रुपैयाँ निकासा गरेको छ ।  

क्याम्पसले विद्यार्थीहरुको शैक्षिक अभिवृद्धि गर्ने विभिन्न योजना ल्याउने क्रममा छात्र/छात्रा छुट्टाछुट्टै छात्रावास निर्माण हुनु महत्वपूर्ण रहेको अध्यक्ष केसीले बताए ।

पहिलो चरणमा एक तले भवनमा १४/१४ वटा कोठा निर्माण हुनेछन् । निर्माणका लागि चारुमति कन्ट्रक्सन प्रालि बानेश्वर काठमाडौंले ठेक्का पाएर काम थालेको हो । ठेकेदार जीवन तिम्सिनाका अनुसार अहिले पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र पूरा गर्ने सहमति भएको छ । 

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने छात्रवास तीन तल्लाको हुनेछ । छात्रवास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने क्याम्पस सञ्चालक समिति शैक्षिक अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक  शिवराज दाहालले बताए । 

दुर्गम तथा आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीलाई शिक्षामा पहुँच पुर्‍याउन छात्रावासले लाभ पुर्‍याउने क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारीले बताइन् । 

जनता क्याम्पसमामा हाल विद्यार्थीका लागि सात वटा वस सेवा  सञ्चालनमा छन् । विद्यार्थीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । बसमार्फत सुनसरीको वराहक्षेत्र, दुहवी, इनरुवासहित मोरङको विराटचोससम्मका विद्यार्थीले सेवा लिइरहेका छन् । 

क्याम्पसले छ महिनाअघि विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता समेत गरेको थियो । जसमा भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको थियो । सो सम्झौतापछि पुस ५ र ६ गते दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन समेत गरेको थियो । 

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । 

कक्षा ११ र १२ का शैक्षिक कार्यक्रमसमेत सञ्चालनमा छ । यहाँ छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार