नेभिगेशन
समाचार

चतराधाममा अङ्ग्रेजी माध्यममा 'गुरुकुल' सञ्चालन हुँदै

धरान । वराहक्षेत्र -१ चतराधाम स्थित जगद्गुरु श्री रामानन्दाचार्य सेवा पीठ ( श्रीरामतारक ब्रह्म पीठ) मा 'जगदगुरु श्रीरामानन्दाचार्य गुरुकुल' सञ्चालनमा आउने भएको छ । 

गुरुकुलले सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ शैक्षिक सत्रका विद्यार्थी भर्नाको आह्वानसमेत गरेको छ । गुरुकुलमा कक्षा ६ देखि कक्षा-१२ सम्म नेपाल सरकारको पाठ्यक्रमअनुसार अंग्रेजी माध्यममा पठनपाठन हुने बताइएको छ । 

गुरुकुलमा आवासीय सुविधा हुनेछ । गुरुकुल पद्धतिअनुसार ब्रह्ममुहूर्तदेखि सुरु हुने अनुशासित जीवनशैली, योग, प्राणायाम, ध्यान, नित्य सन्ध्या–वन्दन, वेद–व्याकरण अध्ययन, संस्कार, संस्कृति तथा जीवन–कर्तव्य सम्बन्धी शिक्षा प्रदान गरिने पिठले जनाएको छ ।  

पिठका साधक आकाश शर्माका अनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आधुनिक पूर्वाधारसहित स्मार्ट क्लास, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, आधुनिक पुस्तकालय र अध्ययन कक्षको व्यवस्था गरिएको छ । 

'गुरुकुलमा खेलकुद, नृत्य, सङ्गीतलगायत अतिरिक्त अध्यापन  हुनेछ । 'प्रोग्रेसिभ लर्निङ मेथडअनुसार व्यवहारिक र जीवनोपयोगी शिक्षण पद्धति अपनाइनेछ,' साधक शर्माले भने, 'पूर्ण रूपमा सुरक्षित तथा स्नेहपूर्ण वातावरणमा आवासीय सुविधा, सन्तुलित आहार–विहार, योग तथा आयुर्वेदिक जीवनशैलीको अभ्यास गराइन्छ । अभिभावकसँग हप्तामा एकपटक भिडिओकल मार्फत सम्पर्क व्यवस्था गरिएको छ ।'

पिठले सम्पूर्ण साधक, भक्तजन तथा श्रद्धालुलाई आफ्नो सन्तानलाई चरित्रवान, अनुशासित, संस्कारित तथा धर्म–संस्कृतिले युक्त महान व्यक्तित्वका रूपमा निर्माण गर्नका लागि गुरुकुलमा भर्ना गर्न आह्वान गरेको छ ।

'आजको युगमा केवल डिग्री होइन, संस्कार, चरित्र र आध्यात्मिक चेतनाले युक्त जीवन नै साँचो सफलता हो । यही उद्देश्यका साथ यो गुरुकुल सञ्चालन गरिएको हो ।' पिठका साधक शर्माले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार