नेभिगेशन
Dashain Banner
Dashain Banner
शिक्षा

साना पाइला, ठूला सपना: धरान मन्टेश्वरीमा दिक्षान्तको उत्सव

धरान, २३ चैत — बालबालिकाको उज्यालो भविष्यतर्फको पहिलो औपचारिक पाइला मंगलबार विशेष माहोलका बीच अघि बढ्यो। धरान–१ स्थित धरान मन्टेश्वरी एकेडेमीले आफ्नो वार्षिक कार्यक्रमसँगै दिक्षान्त समारोहलाई उत्सवकै रूपमा मनायो।
दुई दिनसम्म सैनिक भवन सभाहलमा चलेको कार्यक्रममा कक्षा ५ पूरा गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरियो। कालो गाउन र टोपीमा सजिएका साना विद्यार्थीहरू जब मञ्चमा उभिए, त्यतिबेला अभिभावकको आँखामा गर्व र खुशी दुवै झल्किएको देखिन्थ्यो।
समारोहका प्रमुख अतिथि, कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै दिक्षान्त टोपी पहिर्याए। उनले बालबालिकालाई “भोलिका चम्किला तारा”को संज्ञा दिँदै गुणस्तरीय शिक्षा मात्र नभई नैतिकता र अनुशासनको महत्वमा जोड दिए।
कार्यक्रम केवल औपचारिकतामा सीमित रहेन। साना कलाकारहरूले प्रस्तुत गरेका सन्देशमूलक नाटक, नृत्य र गायनले हललाई जीवन्त बनायो। हरेक प्रस्तुति बालप्रतिभाको उजागर मात्र नभई सिकाइको नयाँ शैलीको झल्को पनि थियो।
विद्यालयले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको हौसला थप बढायो।
विद्यालयकी प्रिन्सिपल मैया राईले दिक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै विद्यालयले सिकाएको अनुशासन र नैतिक शिक्षालाई जीवनभर आत्मसात गर्न सुझाव दिइन्। उनले मन्टेश्वरीको विशेषता नै बालमनोविज्ञानमा आधारित खेल्दै सिक्ने वातावरण भएको उल्लेख गरिन्।
त्यस्तै, निर्देशक दिपक अग्रवालले विद्यालयको पहिचान गुणस्तरीय र मूल्यआधारित शिक्षामा केन्द्रित रहेको बताए। अभिभावकहरूको बढ्दो विश्वासलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कोशी प्रदेशकै पुरानो मन्टेश्वरीमध्ये एक मानिने यस एकेडेमीमा हाल ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा