नेभिगेशन
पर्यटन

कोशी नदी किनार बन्ने छ- 'ग्रेटर मुन्दुम ट्रेलको 'साइट सिन', छिन्नमस्ताबाट संरचना निर्माण हुँदै 

धरान । 'मुन्दुम ट्रेल/ ग्रेटर मुन्दुम ट्रेल' लाई सागरदेखि सगरसम्म (खुवालुङदेखि चोमोलुङ्मा) जोड्ने अभियानमा भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

ग्रेटर मुन्दुम ट्रेलको परिकल्पना अनुसार कोशी टप्पु वन्यजन्तु आरक्ष हुँदै प्राचीन बजार चतरा मठ- छिन्नमस्ता भगवतीको मन्दिर- सेनकालीन हिन्दूपति राजाको दरबार- चावाचा हुँदै चतराघाट झरेर कोसोपा खोला हुँदै मैनामैनीतर्फ अघि बढ्ने छ । 
हाल परियोजना धनकुटा जिल्लातर्फ भने अघि बढेको छैन ।  दीर्घकालीन रुपमा  चावाचा- अर्चले- जुगपाख्री- वराहक्षेत्र- अक्करे भीर हुँदै अघि बढ्ने छ । 

हाल संरचना निर्माणको काम भने चतरा मठसँगै रहेको मदन भण्डारी राजमार्गको उत्तर छिन्नमस्ता भगवतीको मन्दिरबाट अघि बढेको छ । 

मुन्धुम ट्रेलका सामाजिक सुरक्षा अधिकृत पार्वती रानाका अनुसार मदन भण्डारी राजमार्गको तल्लो खण्डमा ट्रेल निर्माणको ठाउँ नभएकाले कोशी टप्पुसहित कोशी किनारका मुख्यमुख्य पर्यटकीय गन्तव्यलाई 'साइट सिन' गन्तव्यका रुपमा प्रवर्धन गरिने छ । हजारौं वर्षअघि किराँती पुर्खाहरू सप्तकोशी नदीबाट बाटो पहिल्याउँदै सगरमाथासम्म पुगेको अवधारणामा आधारित छ- ग्रेटर मुन्दुम ट्रेल । 

अधिकृत रानाका अनुसार पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत स्वीस सरकारको सहयोगमा २०८१ बाट कार्यान्वयन आएको हो । यो परियोजनालाई सरकारले गौरवको आयोजनाका रुपमा लिएको छ । साथै तीनै तहको सरकारले आर्थिक योगदान गर्दै आएको छ । 

'परियोजनाको तत्कालीन लक्ष्य रोजगारी प्रवर्धन गर्ने हो भने दीर्घकालीन लक्ष्य समुदायलाई आर्थिक लाभ पुर्‍याउने हो,' अधिकृत रानाले भनिन्, 'ट्रेल निर्माण पुर्खाहरुले हिंडेको बाटो पहिल्याउँदै अघि बढ्ने छ । पदमार्गसँग पर्यटक हिंड्दा बस्ने संरचना, शौचालयलगायत निर्माण हुनेछ । यी सबै काम हामी उपभोक्ता निर्माण समितिबाट गरिरहेका छौं ।'  


तत्काल वराहक्षेत्रको २ किलोमिटर पदमार्ग निर्माणको क्रममा रहेको छ । योसँगै 'पेरिफेरियल स्ट्रक्चर' बन्ने छन् ।  

वराहक्षेत्रको चतरामा निर्माणाधीन मुन्दुम ट्रेलका लागि पदमार्गको मौलिक रुपमा निर्माण भइरहेको छ । छिन्नमस्ता हुँदै मध्यकालीन राजा हरिहरसेनको ग्रिष्मकालीन दरबार मानिएको र हिन्दूपति दरबारका नामले स्थानीय स्तरमा चिनिएको क्षेत्रतर्फ पदमार्गको निर्माण कार्य भइरहेको छ । गत वर्ष यो पदमार्ग निर्माणका लागि संघीय सरकार, कोशी प्रदेश सरकार,  स्थानीय सरकार र स्वीस सरकारअन्तर्गतको परियोजनाबाट संयुक्त रुपमा निर्माण कार्यको प्रारम्भ भएको थियो । 

पहिलो चरणमा १५ लाख रुपैयाँ विनियोजित रकमबाट ४ लाख ३४ हजार रुपैयाँको काम सम्पन्न भएको थियो । यो वर्ष विनियोजित २५ लाख रुपैयाँबाट पदमार्ग निर्माणका लागि २० लाख रुपैयाँ र अन्य संरचना (पेरिफेरियल स्ट्रक्चर) निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ । 

चतरा हाइकिङले प्रवर्धन गरेको पदमार्ग छनोट 

वराहक्षेत्रका ऐतिहासिक, पुरातात्विक र धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न विगत ४ वर्षदेखि निरन्तर आयोजना भइरहेको 'चतरा हाइकिङ' ले छनोट र प्रवर्धन गरेको पदमार्ग हो, 'छिन्नमस्ता-हिन्दूपति दरबार-लालकोट गढी पदमार्ग' । यही पदमार्गमै 'मुन्धुम पदमार्ग परियोजना' अघि बढेको छ । 

चतरा हाइकिङ समूह निर्माण गरी वराहक्षेत्रका युवाले सुस्वास्थ्य, पदमार्ग, धार्मिक पर्यटकीय,  ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको प्रवर्धन गर्दै आएका छन् । स्थानीय पत्रकारहरूको सक्रियतामा सुरु भएको चतरा हाइकिङ समूहले हाइकिङका नयाँ गन्तव्यको खोजीसँगै स्थानीय पर्यटनको प्रवर्धन गर्दै आएका छन् । चतरा हाइकिङ समूहकै सहजीकरणमा मुन्धुम ट्रेलको काम सुरु भएको चतरा हाइकिङका संस्थापक भीषण राई बताउँछन् ।

Mundum-Trail-Chatara1-1780555639.jpg
निर्माण सामग्रीको अभाव

मुन्धुम पदमार्ग मौलिकतामा आधारित छ । यहाँ प्रयोग हुने निर्माण सामग्री मौलिक हुनुपर्ने शर्त छ । ढुंगा छापेर पदमार्ग निर्माणको काम भइरहेको छ । 

मुन्दुम पदमार्ग निर्माण/ पुन: निर्माण समिति अध्यक्ष राजकुमार राईका अनुसार गत वर्षसमेत ढुंगाको अभावमा बजेट अनुसार काम सम्पन्न हुन सकेको थिएन । यो वर्ष भने चतराघाटस्थित धनसार खोला, बाहुनी खोलाबाट ढुंगा सङ्कलन गरी पदमार्ग निर्माणको काम भइरहेको छ । 

'गत वर्ष ढुंगाको अभाव थियो, अहिले स्रोत खोजेर काम तीव्र गतिमा  भइरहेको छ,' निर्माण समितिका अध्यक्ष राईले भने,'हाल हिन्दूपति दरबारमुनि रहेको गोलेको चिहान भन्ने स्थानसम्म पदमार्ग निर्माण गर्ने लक्ष्य राखेका छौं ।' 


कोशीटप्पु वन्यजन्तु आरक्ष हुँदै चतरा- वराहक्षेत्र- अक्करे भीर- खुवालुङ- हतुवागढी हुँदै टेम्के डाँडासम्म ग्रेटर मुन्दुम ट्रेलको तल्लो खण्ड (लोअर पार्ट) का रुपमा लिइएको छ । साल्पा सिलिचुङ- महाकुलुङ- हुँगा खोलाको शिरैशिर आम्फुलाप्चा पास हुँदै सगरमाथा आधार शिविरसम्मको पदमार्गलाई मुन्दुम ट्रेलको उपल्लो खण्ड (अपर पार्ट) का रुपमा लिइएको छ ।

मुन्दुम ट्रेलको अवधारणा सुनसरी, धनकुटा, उदयपुर, खोटाङ, भोजपुर, सोलुखुम्बु, संखुवासभाको समृद्धिको आधार बन्ने विश्वास लिइएको छ । कोशी प्रदेश सरकारको २०८३/८४ को नीति तथा कार्यक्रममा समेत मुन्दुम ट्रेललाई सम्बोधन गरिएको छ । कोशी नदी किनार र आसपासका पर्यटकीय क्षेत्रलाई 'साइट सिन' का रुपमा विकास गरिने पनि परियोजनाको लक्ष्य छ । 

तस्बिरहरु : भीषण राई ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन