नेभिगेशन
समाचार

धरानमा ‘विश्व हर्मोन डे’ मास्टर क्लास सम्पन्न, ३०० बढी स्वास्थ्यकर्मीको सहभागिता

धरान — ‘विश्व हर्मोन डे’ को अवसर पारेर धरानस्थित इटहरी सोल्टी होटल मा “पहिलो इन्टरनल नेपाल वर्ल्ड हार्मोन डे मास्टर क्लास २०२६” भव्य रूपमा सम्पन्न भएको छ। Diabetes Chapter Nepal द्वारा आयोजित उक्त एकदिने कार्यक्रममा कोशी प्रदेशभरिका करिब ३०० भन्दा बढी डाक्टर तथा नर्सहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन B.P. Koirala Institute of Health Sciences (बीपी प्रतिष्ठान) का मेडिसिन विभाग प्रमुख तथा हार्मोन विशेषज्ञ रविन मास्के ले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा Nobel Medical College, Birat Teaching Hospital र Koshi Hospital लगायतका प्रतिष्ठित स्वास्थ्य संस्थाका विशेषज्ञहरूको उपस्थिति रहेको थियो।


कार्यक्रम दुई प्रमुख शैक्षिक सत्रमा विभाजित गरिएको थियो। पहिलो सत्रमा ब्याचलर तहका विद्यार्थीहरूका लागि इन्डोक्राइनोलोजीसम्बन्धी हाजिरजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो, जसको क्विज मास्टर प्रा. डा. रविन मास्के रहनुभएको थियो। दोस्रो सत्रमा एमबीबीएस तहका डाक्टरहरूबीच प्रतिस्पर्धात्मक क्विज कार्यक्रम सञ्चालन गरिएको थियो, जसलाई बीपी प्रतिष्ठानका एसोसिएट प्रोफेसर अविनाश राई ले सहजीकरण गर्नुभएको थियो।
प्रतियोगितामा विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो। एमबीबीएसतर्फ Nobel Medical College प्रथम भएको थियो भने ब्याचलरतर्फ B.P. Koirala Institute of Health Sciences ले पहिलो स्थान हासिल गरेको थियो। विजेताहरूलाई प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा डायबेटिज र हार्मोनसम्बन्धी विषयमा प्रा. डा. रविन मास्के तथा ओमप्रकाश शाह ले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा इन्सुलिन प्रयोग, मात्रा निर्धारण तथा बिरामीलाई सही परामर्श दिने विधिबारे विस्तृत जानकारी दिइएको थियो। ग्रामीण क्षेत्रमा इन्सुलिन प्रयोगसम्बन्धी ज्ञानको अभाव रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूले सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।


विशेषज्ञहरूले हार्मोन सन्तुलन मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै असन्तुलनका कारण डायबेटिज जस्ता जटिल रोगहरू बढ्दै गएको बताए। नेपालमा करिब ८ प्रतिशतभन्दा बढी जनसंख्या डायबेटिजबाट प्रभावित रहेको तथ्यांक प्रस्तुत गर्दै २५ वर्षमाथिका व्यक्तिहरूले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिइयो। साथै नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा तथा तौल नियन्त्रणले यस्ता रोगबाट बच्न सकिने सुझाव दिइएको थियो।
कार्यक्रममा Quest Pharmaceuticals Pvt. Ltd. लगायत विभिन्न औषधि तथा इन्सुलिन उत्पादन कम्पनीहरूको प्रायोजन रहेको थियो।
आयोजकका अनुसार आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यापक बनाउँदै विभिन्न स्वास्थ्य क्षेत्रका जनशक्तिलाई समेटेर सञ्चालन गर्ने योजना रहेको छ। साथै Diabetes Chapter Nepal धरान च्याप्टरले सदस्यता विस्तार गर्दै डाक्टर, नर्स तथा सर्वसाधारणलाई समेत सहभागी गराउने लक्ष्य लिएको जानकारी दिएको छ।


कार्यक्रममा सहभागी चिकित्सकहरूले यस्ता ज्ञानमूलक कार्यक्रमले स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार