नेभिगेशन
समाचार

शिक्षक कल्याण समाजले भन्यो- छाताचोकको पुरानो अस्पताल २०४८ देखि बिपी प्रतिष्ठानकै हो

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले छाताचोकको पुरानो अस्पताल परिसर २०४८ देखि बिपी प्रतिष्ठानकै रहेको दाबी गरेको छ । समाजले उक्त स्थानमा स्याटलाइट अस्पताल निर्माण गर्न माग गरेको छ । 

समाजले एक विज्ञप्ति जारी गर्दै वि.सं. २०४८ सालदेखि विधिवत् रूपमा प्रतिष्ठानको नाममा दर्ता रहेको उक्त जग्गा संस्थाको कानुनी सम्पत्ति भएको स्पष्ट पारेको हो ।

विज्ञप्तिमा धरान उपमहानगरपालिका-छाताचोकको जग्गाका सम्बन्धमा भइरहेका पछिल्ला चर्चा, गतिविधि र निर्णयहरू प्रति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपकुलपतिबाट उक्त जग्गामा सरकारी पहुँच उपलब्ध गराउने निर्णयले एक स्वायत्त शैक्षिक स्वास्थ्य संस्थाको सार्वभौमिकतामाथि प्रत्यक्ष आघात पुग्ने र संस्थाको दीर्घकालीन हितमा गम्भीर नकारात्मक असर पर्ने समाजको ठहर छ ।

प्रतिष्ठानले उक्त जग्गामा यसअघि नै स्याटलाइट अस्पताल स्थापना गरी स्थानीयलाई प्राथमिक तथा माध्यमिक स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अघि सारेको विज्ञप्तिमा उल्लेख छ । यसलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको 'प्रथम सम्पर्क बिन्दु' का रूपमा विकास गर्ने लक्ष्य रहे पनि सुकुम्वासी व्यवस्थापन लगायतका व्यवहारिक चुनौतीका कारण कार्यान्वयनमा ढिलाइ भएको समाजले स्पष्ट पारेको छ ।

नेपालको संविधानद्वारा सुनिश्चित सम्पत्तिको हकलाई सम्मान गर्दै संस्थागत सहमति र सरोकारवाला पक्षहरूको समन्वयबिना गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने समाजले चेतावनी दिएको छ । धरान जस्तो विकसित सहरी क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिष्ठान र धरान उपमहानगरपालिकाबीच 'पब्लिक-पब्लिक पार्टनरसिप' मोडलमार्फत अस्पताल सञ्चालन गर्नु नै सबैभन्दा व्यवहारिक र दिगो विकल्प हुने समाजको सुझाव छ ।

समाजका अध्यक्ष डा. सेराज अहमद खानद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गैर-विशेषज्ञ वा हतारमा लिइने निर्णयले दीर्घकालीन असर पार्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

समाजले स्थानीय सरकार, स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायहरूलाई अनावश्यक राजनीतिक हस्तक्षेपबाट टाढा रही सहमति र जिम्मेवारीका आधारमा समाधान खोज्न आह्वान गर्दै रचनात्मक सहकार्यका लागि आफूहरू प्रतिबद्ध रहेको समेत जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार