नेभिगेशन
समाचार

नेपाली सेनाले भन्यो- 'हजार्ड म्यापिङ' का लागि सुकुम्बासीको तथ्याङ्क माग गरिएको हो

धरान । नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरिएको विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । 

सैनिक मुख्यालय जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय युनिटहरूबाट भइरहेको विवरण सङ्कलनको कार्य केवल सम्भावित विपद प्रतिकार्यको पूर्व तयारीका लागि भएको स्पष्ट पारेको हो ।

नेपाली सेनाले विगतका वर्षहरूमा घटेका प्राकृतिक विपदका घटनाहरूलाई मध्यनजर गर्दै आउँदो वर्षातको समयमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको जनाएको छ । 

वर्षायाममा आइपर्ने बाढी, पहिरो, डुबान तथा नदी कटान जस्ता समस्याबाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न सरोकारवाला निकायहरूसँगको समन्वयमा पूर्व तयारी योजना बनाउने कार्य भइरहेको सेनाको भनाइ छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार सेनाका स्थानीय युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र विपदका बेला सुरक्षा फौज प्रभावकारी रूपमा तैनाथ गर्न, उद्धार कार्यलाई सहज बनाउन र राहत वितरण एवं पुनस्र्थापनाका कामलाई व्यवस्थित तुल्याउनका लागि विवरण सङ्कलन गरेका हुन् । 

सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान अर्थात् 'हजार्ड म्यापिङ' गर्नका लागि आवश्यक पर्ने तथ्याङ्क अद्यावधिक गर्ने क्रममा सो विवरण माग गरिएको सेनाले प्रष्ट पारेको छ । सेनाले यस कार्यलाई शुद्ध रूपमा विपद व्यवस्थापनको प्राविधिक र पूर्व तयारीको पाटो भएको बताउँदै यसलाई अन्य अर्थमा नलिन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार