नेभिगेशन
समाचार

टोल विकास संस्थाले अनधिकृत रूपमा रकम उठाएको भन्दै देउराली खानेपानी उपभोक्ता समितिको आपत्ति

धरान । धरान-५ स्थित देउराली क्षेत्रमा भइरहेको खानेपानी पाइपलाइन मर्मत तथा नयाँ विस्तार र निर्माण कार्यका नाममा टोल विकास संस्थाले उपभोक्ताबाट रकम संकलन गरेको भन्दै 'देउराली खानेपानी उपभोक्ता तथा सरसफाइ समिति'ले आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष जीवन लिम्बूले बुधबार पत्रकार सम्मेलन मार्फत जारी गरेको प्रेस विज्ञप्तिमा खानेपानी परियोजनाको नाममा भइरहेको अवैध गतिविधिप्रति समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले खानेपानी विस्तार तथा मर्मतका लागि कुनै पनि टोल विकास संस्था वा अन्य निकायलाई श्रमदानको नाममा उपभोक्ताबाट चन्दा वा जरिवाना रकम उठाउन निर्देशन नदिएको जनाएको छ । 

विज्ञप्तिअनुसार, खानेपानी आयोजनालाई सफल बनाउन उपभोक्ताको सहभागिता र सहयोग आवश्यक रहेकाले समितिले टोल विकास संस्थालाई श्रमदानका लागि आह्वान गरेको थियो । तर, श्रमदानमा सहभागी नभएको निहुँमा कसैबाट ५०० देखि १ हजार रुपैयाँ वा अन्य कुनै पनि प्रकारको जरिवाना संकलन गर्ने कुनै निर्णय वा निर्देशन समितिबाट नभएको अध्यक्ष लिम्बूले बताएका छन् ।

आयोजनाको काममा सहभागी नभएको भन्दै उपभोक्ताको नाममा चन्दा, शुल्क वा जरिवाना संकलन गर्ने तथा सोही निहुँमा उपभोक्तालाई धम्की वा दबाब दिने कार्यप्रति समितिले खेद प्रकट गरेको छ । 

समितिको नाम दुरुपयोग गरी भइरहेका यस्ता गतिविधिले उपभोक्तामा भ्रम सिर्जना गर्ने भएकाले सत्यतथ्य बुझेर मात्र सहयोग गर्न र यस्ता अवैध कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा समितिले अनुरोध गरेको छ । श्रमदानमा नआउने उपभोक्तालाई खानेपानीको बिलमा रकमा जोडेर पठाउने हल्ला चलाइएपछि पत्रकार सम्मेलन गरेर भ्रम चिर्ने प्रयास गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिम्बूले बताए । 

खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिम्बूका अनुसार समितिमा २४ वटा टोल विकास संस्थाका ३ हजार २ सय ७५ घरधुरी उपभोक्ता छन् । 

श्रमदानका नाममा रकम उठाएको आरोप लागेका सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याक्खाले आरोपको खण्डन गर्ने बताए । उनले पत्रकार सम्मेलन गरेरै जानकारी दिने बताए । टोल विकास संस्थामा झण्डै ४०० घर धुरी छन् । 

देउराली खानेपानी उपभोक्ता समितिले वडासँग समन्वय गरेर उपभोक्ताको रकम फिर्ता गराउने वा अन्य प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल गर्ने जनाएको छ । उपभोक्ता समितिले हाल बोरिङको काम सञ्चालन गरिरहेको छ । खैरेनीसम्म पाइपलाइन विस्तारको काम अघि बढाएको छ । अध्यक्ष लिम्बूका अनुसार साढे ११ लाखको पाइप खरिद गरी काम भइरहेको छ । साढे ३ लाख लिटरको खानेपानीको ट्याङ्की निर्माण गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार