नेभिगेशन
धरान विशेष

सिद्धार्थ शिशु सदनले जित्यो 'ब्रेन ब्याटल'सिजन- १ को उपाधि

धरान । ब्रदर्स अनलाइन मिडिया हबद्वारा आयोजित स्कुलव्यापी हाजिरी जवाफ प्रतियोगिता 'ब्रेन ब्याटल धरान, सिजन -१' को उपाधि धरानस्थित सिद्धार्थ शिशु सदन स्कुलले जितेको छ ।

शनिबार आयोजित फाइनल प्रतिस्पर्धाको चार राउण्डबाट कुल ८० अङ्क जोडेको सिद्धार्थले ब्रेन ब्याटलको उपाधिसहित  नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ । 

प्रतियोगितामा कुल ५० अङ्क जोडेको एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल दोस्रो भएको छ । एभेरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा ३५ अङ्क प्राप्त गरेको डिपो स्कुल तेस्रो बन्दा ३० अङ्क प्राप्त गरेको छ । डिपोले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा धरान मोडल स्कुल सान्त्वना भएको छ । धरान मोडलले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 

गत जेठ २३ गतेदेखि आयोजित स्कुलव्यापी हाजिरी जवाफ प्रतियोगितामा सुनसरी जिल्लाका २० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताका चार शृङ्खलाबाट विजेता हुँदै चार विद्यालय फाइनलमा प्रवेश गरेका थिए । 

1000214351-1781374540.jpg
उपाधि विजेता सिद्धार्थ शिशु सदन पहिलो शृङ्खलाबाट विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो ।  ‘ब्रेन ब्याटल’ (सिजन-१) हाजिरीजवाफ प्रतियोगिताले  शैक्षिक र बौद्धिक विकासलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको मिडिया हबका अध्यक्ष विरेन्द्र थापाले बताए । 

औपचारिक कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवहाक प्रमुख अइन्द्रविक्रम बेघाले विद्यार्थीको बौद्धिकस्तर बढाउन अतिरिक्त क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहने बताए । शिक्षा नीतिले विद्यार्थीको चौतर्फी र सर्वाङ्गीण विकास हुनुपर्ने उल्लेख गरेको भन्दै उनले 'ब्रेन ब्याटल' प्लेटफर्म भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले मिडिया कम्पनीले शिक्षा क्षेत्रमा योगदान गरेको उल्लेख गरे ।    प्रतियोगितासँगै सञ्चारकर्मीलाई सम्मान र पुरस्कृत गरिएकामा उनले मिडियालाई धन्यवाद दिए । 

1000214360-1781374802.jpg
पत्रकारलाई सम्मान 

'ब्रेन ब्याटल' को समापनका अवसरमा पत्रकार रणध्वज लोहारलाई सम्मान गरिएको छ । 

मिडिया हबका अध्यक्ष विरेन्द्र थापाका दिवंगत पिता स्व. उदयबहादुर थापाको स्मृतिमा स्थापना गरिएको 'स्व. उदयबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार' बाट पत्रकार लोहारलाई सम्मानित गरिएको थियो । 

सम्मानपत्रसँगै नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवहाक प्रमुख अइन्द्रविक्रम बेघाले हस्तान्तरण गरे । 

यस्तै ब्रदर्स अनलाइन मिडिया हबद्वारा सञ्चालित बिटिभीनेपालमा सम्पादकको भूमिकामा पत्रकार नवराज विष्टलाई स्वागत सम्मान गरिएको छ । बिटिभी नेपालकी समाचार प्रस्तोता मित्रता श्रेष्ठलाई समेत कार्यकुशलताका आधारमा सम्मान गरिएको छ । 

उक्त अवसरमा ब्रेन ब्याटलका प्रायोजक र सहयोगीलाई समेत सम्मान र धन्यवादपत्र प्रदान गरिएको छ । ब्रेन ब्याटलको होस्ट रेजिना लामिछानेले गरेकी थिइन् भने प्रतियोगिताको छायाङ्कन बुलेट खतिवडा, रोहन थापाले गरेका थिए । 

छायाङ्कनसहितको प्रतियोगिताको प्रसारण बिटिभीनेपालको अफिसियल युट्युब र फेसबुक च्यानलबाट प्रसारण गरिएको छ । प्रतियोगिताको फाइनल एपिसोडसमेत प्रसारण हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप धरान विशेष