नेभिगेशन
खेलकुद

धरानमा 'नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग' हुने, साहसिक खेल पर्यटनमा नयाँ आयाम थपिँदै

धरान । साहसिक खेलकुदको विकास र पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले सुनसरीको धरानमा 'नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग (एनपीपीएल) ओपन एकुरेसी सिरिज-१' आयोजना गर्ने भएको छ । 

प्रतियोगितामा एकुरेसी ओभरल, महिला व्यक्तिगत, पुरुष टिम, र राष्ट्रिय पुरुष तथा महिला गरी विभिन्न विधामा विजेताहरूलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

संघका अध्यक्ष भूपेन्द्र (भूपाल) चाम्लिङ राईका अनुसार, सहभागी सबै खेलाडीहरूका लागि यातायात खर्च, खाना, बस्ने सुविधा र बिमाको समेत उचित व्यवस्था गरिएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूका लागि गुगल अकाउन्ट अनलाइन फर्म वा संघको वेबसाइटमार्फत दर्ता गर्ने सहज व्यवस्था मिलाइएको छ । स्थानीय सरकार, सञ्चारमाध्यम र सरोकारवाला निकायहरूको बलियो साथले यो प्रतियोगिता धरानको खेलकुद र पर्यटन विकासमा कोशेढुङ्गा सावित हुने संघले विश्वास लिएको छ ।

प्रतियोगितामा नेपालका साथै भारत, चीन, मलेसिया, श्रीलंका र विभिन्न युरोपियन राष्ट्रहरूका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । विशेष गरी १८औँ एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरू समेत सहभागी हुने यस लिगलाई थप प्रतिस्पर्धी र आकर्षक बनाउन आयोजकले कुल ६ लाख २५ हजार रुपैयाँ बराबरको पुरस्कार राशि छुट्याएको छ । 

विगत चार दशकदेखिको प्याराग्लाइडिङ खेलको विकास र विस्तारको यात्रालाई निरन्तरता दिँदै आयोजित यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय र धरान उपमहानगरपालिका लगायतका निकायहरूको बलियो साथ र सहकार्य रहेको छ । 

आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताले राज्यको खेलकुद नीतिलाई कार्यान्वयनमा ल्याउनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद