नेभिगेशन
समाचार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा धरानमा पत्रकारको प्रभातफेरी 

धरान । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घ सुनसरीले धरानमा प्रभातफेरीको आयोजना गरेको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसर पारेर नेपाल पत्रकार महासङ्घ, सुनसरी शाखाको आयोजनामा भएको प्रभातफेरीमा जिल्लाका क्रियाशील पत्रकार, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिको  सहभागिता थियो ।

प्रभातफेरीमा सहभागीहरूले 'शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाको लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन' भन्ने मूल नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको भौतिक सुरक्षा र सूचनाको हकको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

महासङ्घको आयोजनामा भएको यस प्रभातफेरीले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य रहेको सन्देश प्रवाह गरेको महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले बताए । 

आइतबार बिहान धरानको छाताचोकबाट भानुचोकसम्म पत्रकारहरूले प्रभातफेरीको आयोजना गरेका हुन् । आयोजित कार्यक्रममा नागरिक समाजले प्रेस स्वतन्त्रताका पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार