नेभिगेशन
समाचार

निजामती कर्मचारीका ट्रेड युनियन कार्यालयहरू बन्द गर्न सरकारको निर्देशन

धरान । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय र मातहतका सम्पूर्ण निकायहरूमा रहेका निजामती कर्मचारीका ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार एक परिपत्र जारी गर्दै 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३' मार्फत निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएको जानकारी गराएको हो ।

कानुनी व्यवस्था नै खारेज भएपछि अब आधिकारिक ट्रेड युनियन सहित निजामती कर्मचारीसँग सम्बन्धित कुनै पनि विभागीय वा अन्य समितिका कार्यालयहरू सञ्चालन गर्न पाइने छैन । मन्त्रालयले ती युनियनहरूले प्रयोग गर्दै आएका कार्यालय भवन, कार्यकक्ष, सवारी साधन लगायतका सम्पूर्ण सरकारी सेवा सुविधाहरू र सम्पत्तिहरू सम्बन्धित कार्यालयले तत्काल फिर्ता लिन समेत आदेश दिएको छ ।

यसका साथै, ट्रेड युनियनका विभिन्न तहका समितिमा आबद्ध रहेका कारण नियमित कामकाजमा नरहेका कर्मचारीहरूलाई अब तुरुन्त तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउन समेत मन्त्रालयले निर्देशन दिएको छ । 

२०८३ वैशाख २२ गतेको सचिवस्तरीय निर्णयानुसार जारी गरिएको यस निर्देशनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत दिइएको छ । सरकारको यो कदमसँगै निजामती सेवाभित्रका ट्रेड युनियन गतिविधिहरू र तिनले उपभोग गर्दै आएका संरचनाहरू औपचारिक रूपमा बन्द हुने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार

बर्खाअघि नै टप्पुमा तटबन्ध !