नेभिगेशन
खेलकुद

अमन थापाले जिते, प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिजको उपाधि

धरान । धरानमा आयोजित प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिजको उपाधि प्याराग्लाइडर अमन थापाले हात पारेका छन् । थापाले आयोजित प्रतियोगिताको ओभरअलतर्फ र एक्युरेसी नेसनल पुरूषतर्फको उपाधिसमेत जितेका छन् । 

उपाधि विजेता थापाले ओभरअलतर्फको उपाधि जित्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे भने एक्युरेसी नेसनल पुरूषतर्फ ३० हजार रुपैयाँ प्राप्त गरे । 

नेपालमै पहिलो पटक गत शुक्रबारदेखि धरानमा जारी प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिजको फाइनलमा ओभरअलतर्फ सागर नेपाली उपविजेता बने । उनले १ लाख रुपैयाँ प्राप्त गरे । भारतीय प्याराग्लाइडर अक्षय कुमार तेस्रो बन्दै ७५ हजार रुपैयाँ प्राप्त गरे । 

1000151442-1778506821.jpg
 

खुल्ला महिलातर्फको उपाधि भारतकी श्रेयसी तामाङले जितिन् । उनले ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो इस्का राईले २५ हजार रुपैयाँ प्राप्त गरिन् । मोरङकी विद्या राई तेस्रो बन्दा १५ हजार रुपैयाँ प्राप्त गरिन् । 

टिम विजेतातर्फको उपाधि अरुण जालहारी, अन्जन कुवर, पवन परियार र रिकी पोडेको समूहले जित्यो । यो समूहले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । दोस्रो बनेको युवराज सुनुवार, सुमनजंग थापा, विष्णु तिम्सिना र रोशन बस्नेतको समूहले ३० हजार रुपैयाँ प्राप्त गर्‍यो । 

तेस्रो बन्न सफल कृष्णबहादुर क्षेत्री, अमन थापा, विष्णु कार्कीको समूहले २० हजार रुपैयाँ प्राप्त गर्‍यो । 

एक्युरेसी नेसनल महिलातर्फको उपाधि इक्सा राईले जित्दा उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । दोस्रो विद्या राईले २० हजार पाइन् । तेस्रो बनेकी देवकीमाया सुनुवारले १० हजार रुपैयाँ प्राप्त गरिन् । 

एक्युरेसी नेसनल पुरूषतर्फको उपाधि अमन थापा मगरले जिते उनले ३० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो बनेका सागर नेपालीले २० हजार रुपैयाँ पाए । तेस्रो पवन परियारले १० हजार रुपैयाँ पाए । 

धरान–४ स्थित छोटीमोरङमा आयोजित प्रतियोगितामा नेपाल र भारतका प्याराग्लाइडर खेलाडीको सहभागिता थियो । विगत चार दशकदेखिको प्याराग्लाइडिङ खेलको विकास र विस्तारको यात्रालाई निरन्तरता दिँदै आयोजित यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय र धरान उपमहानगरपालिका लगायतका निकायहरूको साथ र सहकार्य रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद