नेभिगेशन
खेलकुद

नयाँ श्रीनाथ गण भोजपुर 'बाहिनीपति ट्रफी-२०८३' को सर्वोत्कृष्ट

धरान । धनकुटाको हिलेस्थित नेपाली सेनाको श्री नं. २ बाहिनी अड्डाद्वारा आयोजित 'बाहिनीपति ट्रफी-२०८३' अन्तर्गत ६ खेलका विधामा जित निकाल्दै श्री नयाँ श्रीनाथ गण भोजपुर सर्वोत्कृष्ट बनेको छ । 

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, एथलेटिक्स, जुडो, कबड्डी र पौडी गरी जम्मा ९ वटा खेलका विधामध्ये भलिबल, बास्केटबल, फुटबल, एथलेटिक्स, बक्सिङ र तेक्वान्दोमा भोजपुरले सर्वोत्कृष्ट प्रदर्शन गरेको हो ।

पौडी र कबड्डीमा जित निकालेको श्री भीमदल गण द्वितीय र जुडोमा प्रथम स्थान प्राप्त गरेको श्री शिवदल गण तृतीय भएका छन् । 

गत बैशाख २३ गतेदेखि सुरु भएको प्रतियोगिताका विजेतालाई बाहिनीपति सहायक रथी दिवाकरविक्रम राणाले ट्रफी तथा मेडल प्रदान गरे । बाहिनी अड्डाअन्तर्गत कोशी प्रदेशका ६ जिल्ला साथै मकालु बरुण राष्ट्रिय निकुञ्ज तथा कोशी टप्पु वन्यजन्तु आरक्षस्थित गण तथा गुल्मका सैनिक खेलाडी प्रतियोगितामा सहभागी थिए । 

समापन समारोहलाई सम्बोधन गर्दै सहायक रथी राणाले सेनाभित्र खेल संस्कृतिको विकास गर्ने, खेलाडीको पहिचान गर्ने र आगामी 'पृतनापति ट्रफी २०८३' का लागि योग्य खेलाडी छनोट गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रममा विभिन्न गणका गणपति, खेलकुद विकास समितिका पदाधिकारी, सैनिक अधिकृतहरू र सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद