नेभिगेशन
समाचार

अमिर लिम्बू बने 'केराबारी रन' को दोस्रो संस्करणको विजेता

धरान । गोर्खा सेमिट्रिज ट्रस्ट नेपालद्वारा आयोजित 'गोर्खा केराबारी रन-२०८३' अन्तर्गत ७.२ किलोमिटर दूरी २५ मिनेट २६ सेकेन्डमा पूरा गर्दै अमिर लिम्बू (२०) ताप्लेजुङ, मैवाखोला, प्रथम भएका छन् । 

शनिबार बिहान २७ मिनेट २ सेकेन्डमा निर्धारित दूरी पार गरेका सरोज सिंहले द्वितीय स्थान हासिल गरे । यस्तै २७ मिनेट ३९ सेकेन्डमा दूरी पार गरेका इन्द्र तुम्सिङ तेस्रो बने । विजेता प्रथम, दोस्रो र तेस्रोले नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 

महिला क्यटगोरीतर्फ ३४ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरेकी मन्दिरा महतारा प्रथम बनिन् । ३५ मिनेट ७ सेकेन्डमा दूरी पार गर्दै शिला राई दोस्रो भइन् । निर्धारित दूरी ३८ मिनेटमा पार गरेकी लक्ष्मी राईले महिला समूहतर्फ तेस्रो स्थान हासिल गरिन् । विजेता प्रथम, दोस्रो र तेस्रोले नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 

पुरुष भेट्रान समूहतर्फ विजयकुमार राई प्रथम बने । उनले ३० मिनेटमा निर्धारित ७ दशमलव २ किलोमिटर दूरी पार गरे । उनले नगद ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । रेशम लिम्बूले ३० मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै दोस्रो बने । उनले २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए । यस्तै ३१ मिनेट ८ सेकेन्डमा दूरी पार गरेका विमानसिंह तामाङ तेस्रो बने । उनले नगद १ हजार रुपैयाँसहित मेडल र प्रामाणपत्र प्राप्त गरे ।  

भेट्रान महिला समूहतर्फ ४१ मिनेट ३२ सेकेन्डमा दूरी पार गर्दै जमुना लिम्बू प्रथम बनिन् । दोस्रो स्थान हात पार्न सफल कुसुम लिम्बूले ४४ मिनेट ४० सेकेन्डमा दूरी पार गरिन् । कौशिला तामाङले निर्धारित दूरी ४७ मिनेट ५५ सेकेन्डमा पार गरेर तेस्रो बनिन् । विजेता प्रथम, दोस्रो र तेस्रोले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 

१२ वर्षमुनिको उमेर समूहमा क्रमशः पहिलो, दोस्रो र तेस्रो क्रमशः पन्चबहादुर राई, इशान लिम्बू, यलिजन लिम्बू भए । सबैभन्दा सानो उमेरका धावक प्रतीक विशुङ्खेले सान्त्वना स्थान प्राप्त गरे । उनीहरूले जनही १ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । 

विजेताहरूलाई गोर्खा सेमिट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्रकुमार राई, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठलगायतले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे । 

विश्व शान्तिका लागि प्रथम, दोस्रो र विभिन्न युद्धमा सहिद भएका वीर गोर्खालीहरूको सम्मान र सम्झनामा गोर्खा सेमिट्रिज ट्रस्ट नेपाल गोर्खा ट्रेलब्लेजरलगायतका दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । केराबारीको चोक्टी चोकदेखि मच्छिन्द्र चोकसम्म आयोजना भएको 'केराबारी रन' लाई 'धरान रन समूह' ले प्राविधिक सहयोग गरेको थियो ।  रनमा २०० बढी धावकहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार