नेभिगेशन
खेलकुद

बेलका भेट्रानमाथि हाम्रो धरानको फराकिलो जित

धरान । धरान रंगशालामा जारी हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको चौंथो संस्करणअन्तर्गत सोमबार सम्पन्न खेलमा आयोजक हाम्रो धरान भेट्रान एफसीले बेलका भेट्रान एफसीमाथि ५–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।

हाम्रो धरानको जितका लागि खेलको ११ औं मिनेटमै जर्सी नम्बर ९९ का खेलाडी जीवन लिम्बूले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । जर्सी नम्बर १० का पदम राईले खेलको २२ औं र २९ औं मिनेटमा लगातार दुई गोल गर्दै अग्रतालाई तेब्बर बनाए । पहिलो हाफको ३० औं मिनेटमा पुनः जीवन लिम्बूले व्यक्तिगत दोस्रो गोल गरेपछि हाम्रो धरान भेट्रान पहिलो हाफमै ४–० को बलियो स्थितिमा पुगेको थियो ।

दोस्रो हाफमा बेलका भेट्रानले पुनरागमनको प्रयास गर्‍यो । खेलको ५९ औं मिनेटमा बेलकाका जर्सी नम्बर १० का खेलाडी केशव राईले एक गोल फर्काउँदै खेललाई ४–१ को स्थितिमा ल्याए। तर, खेलको दोस्रो हाफको ३७औं मिनेटमा हाम्रो धरानका जर्सी नम्बर १२ का अशोक राईले थप एक गोल गर्दै टोलीलाई ५–१ को फराकिलो जित निश्चित दिलाए । 

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका हाम्रो धरान भेट्रान एफसीका जर्सी नम्बर १७ का खेलाडी राकेश राई खेलको प्लेयर अफ द म्याच घोषित भए । उनलाई धरानका पूर्वमेयर तिलक राईले २ हजार रुपैयाँसहित उपाधि प्रदान गरे । 

मंगलबार हुने चौंथो क्वाटरफाइनल खेलमा पूर्बेली भेट्रान्स झापा र इटहरी भेट्रान्स सुनसरी भिड्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद