नेभिगेशन
Dashain Banner
Dashain Banner
सहित्य/सिर्जना

विमल गुरुङ कृति पुरस्कारका लागि कृति र राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान 

सुनसरी । धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले आगामी कात्तिक १९ गते सम्पन्न हुने ३५ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता र विमल गुरुङ कृति पुरस्कारका लागि नेपाली भाषाको कृति आह्वान गरेको छ । 

धरानमा मंगलबार बसेको पुस्तकालय सञ्चालन समितिको पूर्ण बैठकले कविता महोत्सवमा सहभागी हुन कविता र कृति पुरस्कारका लागि पुस्तक आह्वान गरेको हो । पुस्तकालय सञ्चालन समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोकाअनुसार पुस्तकालयमा औपचारिक रुपमा दर्ता भएका कृतिहरु मध्ये निर्णायक मण्डलले सबैभन्दा पहिले उत्कृष्ट १० कृति छनौट गर्ने छन् भने सोही १० कृतिमध्ये पनि श्रेष्ठ एक कृतिलाई ताम्रपत्र र दोसल्लासहित नगद २ लाख रुपैयाको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने छ । 

यसअघि बेलायत बस्दै आएका नरेश काङ्माङ राईको कविता संग्रह ‘तेप्लायु’ गोर्खाका चन्द्र गुरुङको कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’ इलामका निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ र आख्यानकार समेत रहेका सञ्चारकर्मी बसन्त बस्नेतको ‘सिमसारा’ ले यो पुरस्कार प्राप्त गरिसकेको छ ।

पुस्तकालयका संरक्षक अध्यक्ष  पूर्णबहादुर गुरुङले कृति पुरस्कारका लागि पुस्तकालयमा २०८२ साल भरी प्रकाशित सबैखाले (आख्यान र गैरआख्यान) विधाका लागि खुला गरिएको बताए । नेपाल र अन्य मुलुकमा बस्ने लेखक, कवि साहित्यकारहरुले नेपाली भाषामा लेखिएको चारप्रति पुस्तक आगामी असोज १५ गतेभित्र धरान–१८ बुद्धचोकस्थित विमल गुरुङ स्मृति पुस्तकालयमा दर्ता गरिसक्नु पर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताए ।

यसैगरी कविता महोत्सवमा उत्कृष्ट ठहरिएका कविताहरु मध्ये प्रथमलाई स्वर्ण पदकसहित २१ हजार रुपैयाँ, दोस्रोलाई रजत पदकसहित १९ हजार रुपैयाँ र तेस्रोलाई काँस्य पदकसहित १८ हजार रुपैयाँ प्रदान गरिने पनि गुरुङले बताए । 

कविता महोत्सवका लागि कविताहरु ०८३ साल असोज १५ गतेसम्म पठाइसक्नुपर्ने छ । पुस्तकालयको आधिकारिक इमेल ‘बिमलवानटुथ्रीफोरगुरुङ एटदरेट जिमेलडटकम’ मा पठाउनु पर्नेछ । 

उक्त अवसरमा नगद १० हजार रुपैयाँसहित एकजना युवा स्रष्ठालाई ‘विमल गुरुङ स्मति पुस्तकालय प्रतिभा सम्मान’ प्रदान गरिने पनि अध्यक्ष गुरुङले बताए । सञ्चालक समितिकाअनुसार विमल कृति पुरस्कार र कविता महोत्सवमा विजेता कविलाई आगामी कातिक १९ गते आयोजना हुने कवि विमल गुरुङको ५५ औं जन्मजयन्ती तथा ३५ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सहित्य/सिर्जना