नेभिगेशन
सहित्य/सिर्जना

धरानमा 'नो सिग्नल' माथि परिचर्चा : प्रविधिको युगमा पनि मानवीय सम्बन्धको विकल्प नरहेको निष्कर्ष

धरान । विज्ञान र प्रविधिले अभूतपूर्व विकास गरे पनि मानिसको एक्लोपन हटाउन र जीवनलाई अर्थपूर्ण बनाउन मानवीय सम्बन्धको विकल्प नरहेको निष्कर्षसहित नाटककार सुवास अधिकारीको नाट्यकृति 'नो सिग्नल' माथि धरानमा परिचर्चा तथा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

नाट्यकृति 'नो सिग्नल' माथि उपप्राध्यापक राजेश विद्रोही र शिल्पी थिएटर, काठमाडौंका परिकल्पनाकार, नाट्यसर्जक तथा निर्देशक घिमिरे युवराजले आ–आफ्नो समालोचनात्मक धारणा प्रस्तुत गरेका थिए।

1000217729-1782639240.jpg
उपप्राध्यापक राजेश विद्रोहीले नाटकले आधुनिक मानिसको एक्लोपन, जीवनको जटिलता र सम्बन्धप्रतिको गहिरो आकाङ्क्षालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको बताए। उनका अनुसार चार पात्र रहेको र दुई पात्र मञ्चमा केन्द्रित रहने यो नाटक एउटै सेटमा मञ्चन गर्न सकिने संरचनामा तयार गरिएको छ। 

छोटा, रोचक र आत्मलाप शैलीका संवादमार्फत जीवनको अर्थ खोज्ने प्रयास नाटकमा देखिएको उनको भनाइ थियो।
विद्रोहीले विज्ञान र प्रविधिले जति नै फड्को मारे पनि मानवीय सम्बन्ध अपरिहार्य रहने सन्देश नाटकले दिएको उल्लेख गर्दै आधुनिकताले मानिसको एक्लोपन र छटपटीलाई अन्त्य गर्न नसक्ने यथार्थलाई कृतिले उजागर गरेको बताए। उनले 'नो सिग्नल' सामान्य मनोरञ्जनभन्दा जीवनको गहिरो अर्थ खोज्न रुचाउने बौद्धिक पाठक र दर्शकका लागि महत्त्वपूर्ण कृति भएको धारणा व्यक्त गरे।

समालोचकका रूपमा धारणा राख्दै घिमिरे युवराजले नाटकले सम्बन्ध, संयोग र जीवनको निस्सारतालाई बिम्बात्मक शैलीमा प्रस्तुत गरेको बताए। उनका अनुसार नाट्यपात्रहरूले अनियमित रूपमा गरेका फोन कलहरू जीवनमा आउने अदृश्य संयोगका प्रतीक हुन्, जसले मानिसहरूबीच सम्बन्ध स्थापना हुने प्रक्रियालाई संकेत गर्छ।

उनले नाटककार सुवास अधिकारी परिस्थिति निर्माणमा सफल रहेको उल्लेख गर्दै पुँजीवादले निर्माण गरेको मध्यमवर्गीय समाजको मनोविज्ञान एउटा कोठाभित्रै प्रभावकारी रूपमा उतारिएको बताए। नाटकमा वैचारिकता चेतन र अवचेतन दुवै तहमा अभिव्यक्त भएको तथा महिला पात्रले पुरुषप्रधान सामाजिक संरचनालाई चुनौती दिएको उनको विश्लेषण थियो।

युवराजका अनुसार पोस्टम्यान पात्रले दृश्य रूपमा एउटा सामग्री बोकेर आए पनि अदृश्य रूपमा जीवनका अनेक आयाम र सम्भावनालाई प्रतिनिधित्व गरेको छ। नाटकका पात्रहरूले सम्बन्धको 'सिग्नल' स्थापित गर्न गरेको संघर्षले अन्ततः मानवीय सम्बन्धको खोज र त्यसको अपरिहार्यतालाई बिम्बात्मक रूपमा अभिव्यक्त गरेको उनले बताए।

1000217730-1782639226.jpg
परिचर्चामा सहभागीहरूले 'नो सिग्नल' ले आधुनिक जीवनको शून्यता, सम्बन्धको खोज र मानिसको आन्तरिक मनोविज्ञानलाई गहिरो दार्शनिक चेतसहित प्रस्तुत गरेको धारणा राखेका थिए।

५० को दशकको मध्य र ६० को सुरुवाततिर धरानमा रहेको सृष्टि नाट्य समूहमा आवद्ध नाट्यकार सुवास अधिकारी लामो वैदेशिक बसाइपछि नाट्यकृति 'नो सिग्नल' लिएर स्वदेश फर्किएका हुन् । उनले कृति पाठकका हातमा पुर्‍याएपछि पाठकले नै समालोचनात्मक र समीक्षात्मक दृष्टिकोण राख्ने बताए । धरान रिडर्स ग्रुपको आयोजनामा सम्पन्न कार्यक्रममा समूहकी सदस्य रन्जु लामाको अध्यक्षता रहेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सहित्य/सिर्जना