नेभिगेशन
सहित्य/सिर्जना

‘समर लभ’ विराटनगरमा मञ्चन हुँदै

विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक भोलिदेखि विराटनगरमा मञ्चन हुने भएको छ ।

पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो । दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर थिएटरले जनाएको छ ।

नाटक मञ्चन हुने सभागृहको स्टेज निर्माण, प्रकाश, ध्वनि तथा अन्य प्राविधिक संरचनाको तयारी पूरा भएको छ ।

कान्तिपुर थिएटरको यो छैटौँ नाट्य प्रस्तुति हो । सुविन भट्टराईको उपन्यासमा आधारित ‘समर लभ’लाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन् । नाटकले अतीत र सायाको प्रेमकथा, युवा जीवन, सम्बन्ध, भावना तथा विछोडका विभिन्न आयामलाई रंगमञ्चमार्फत प्रस्तुत गर्छ ।

नाटकमा सागर खनालले अतीत शर्मा र बास्ना तिमल्सिनाले साया शाक्यको भूमिका निर्वाह गरेका छन् । चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन् । उनको भूमिकासहित विनिता गिरी, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईंलगायत कलाकारको अभिनय नाटकमा रहेको छ ।

काठमाडौंमा मञ्चन हुँदा ‘समर लभ’ले दर्शकको उल्लेख्य चासो पाएको थियो । नाटकको सुरुवाती चरणमै धेरै शो अग्रिम बुकिङ भएको समाचारसमेत सार्वजनिक भएको थियो । करिब दुई घण्टाको प्रस्तुतिमा संवादसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत उपन्यासको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको छ ।

यसअघि विराटनगरमा कान्तिपुर थिएटरले प्रस्तुत गरेको ‘सेतो धरती’ नाटकले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । त्यसैको निरन्तरताका रूपमा ‘समर लभ’ विराटनगर ल्याउन लागिएको कान्तिपुर थिएटरका सीईओ प्रकाश पुरीले जानकारी दिए ।

कान्तिपुर थिएटरले नेपाली रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ समेत विस्तार गर्ने उद्देश्यअनुसार विभिन्न सहरमा आफ्ना प्रस्तुति लैजाने तयारी गरिरहेको पुरीले बताए । भोलिदेखि मञ्चन हुन लागेको ‘समर लभ’ हेर्न उनले दर्शकलाई निम्तोसमेत दिएका छन् ।

विराटनगरमा हुने ‘समर लभ’को प्रत्येक दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीन शो हुने आयोजकले जनाएको छ । टिकटको मूल्य ३ सय, ५ सय र १ हजार रुपैयाँ तोकिएको छ । टिकट कान्तिपुर थिएटरको वेबसाइटमार्फत बुक गर्न सकिनेछ ।

अग्रिम बुकिङ तथा थप जानकारीका लागि ९८०२३५६१११ र ९८०२३५६११३ (ह्वाट्सएप) मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

उपन्यास पढेका पाठकका लागि आफूले कल्पना गरेका पात्र र कथालाई प्रत्यक्ष रंगमञ्चमा हेर्ने अवसरका रूपमा ‘समर लभ’को विराटनगर प्रदर्शनलाई हेरिएको छ । करिब डेढ दशकअघि प्रकाशित उपन्यास अझै पनि युवा पुस्तामाझ परिचित रहेकाले विराटनगरको प्रस्तुतिमा पनि दर्शकको चासो रहने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सहित्य/सिर्जना