नेभिगेशन
सहित्य/सिर्जना

धरानमा प्रस्तुत हुँदैछन्, गुलजारका कविता

धरान । कवि सुदीप पाख्रिनद्वारा अनुवाद गरिएका भारतीय उर्दू कवि गुलजारका कविता धरानमा प्रस्तुत हुने भएका छन् ।

कोशी प्रदेशका युवा तथा स्थापित ८ कविहरूले 'गुलजार कविता' कृतिबाट कविताहरू प्रस्तुत गर्ने भएका हुन् । 
कवि सनम तामाङले 'कबड्डी' शीर्षकको कविता प्रस्तुत गर्नेछन् । कवि प्रदीप योङहाङले 'बाछिटा', धिरज याक्दुहाङले 'सुल्ताना डाकुको अन्तिम पत्र', सविता फागोले 'क्लोजअप', समीक्षा छिलिङले 'स्केच', कवि रोशन परियारले 'दङ्गा', कवि भूषिता वषिष्ठले 'एउटा कवि थियो' र कवि मुकुन्द प्रयासले 'ओई बुढीमाउ' शीर्षकको कविता प्रस्तुत गर्ने छन् ।  

कविताको प्रस्तुतिसँगै परिचर्चा कार्यक्रम आगामी शनिबार होटल रत्न्न इन धरानमा हुनेछ ।  

कृतिका बारेमा वरिष्ठ कवि बम देवान र बद्री भिखारीले समालोचकीय धारणा प्रस्तुत गर्नेछन् । कवि देवानले 'कवितामा सौम्य विद्रोह' शीर्षकमा धारणा राख्ने छन् । कवि भिखारीले  'कवितामा प्रेम र प्रकृति' विषयमा समीक्षात्मक दृष्टि राख्ने छन् । यस्तै कवितामाथि नीला तामाङले बोल्ने कार्यक्रम रहेको छ । उनले 'कवितामा विभाजन पीडा' शीर्षकमा पाठकीय धारणा राख्ने छिन् । 

कवि पाख्रिनले गुलजारका विभिन्न कविता-सङ्ग्रहबाट छानिएका १०० कविताहरू नेपालीमा अनुवाद गरेका छन् ।  नेपाली कविताका पाठकका लागि फाइन प्रिन्टले कृति बजारमा ल्याएको हो । 

कविता कृतिको अन्तिम पातोमा फाइन प्रिन्टले लेखेको छ - 

शब्दमा आत्मा भर्न सक्ने काव्य-सरिताका बेजोड प्रवाह हुन्, कवि गुलजार ।

तीव्र अनुभूति, सघन चिन्तन, तीक्ष्ण अवलोकन, जिब्रोमै झुन्डिने मिठास र सूक्ष्म कथन... गुलजारका कवितालाई प्रभावशाली र बेजोड बनाउने तत्त्व सायद यिनै हुन् । आम मान्छे र तिनका दैनन्दिन जिन्दगीका आयामहरू-दुःख र सुख, मुस्कान र रोदन, तेज र तमस, आशा र निराशा आदि-इत्यादि-उनको काव्यकारिताका विषयवस्तु हुन् । 

यिनै विषयलाई उनले आफ्ना सिर्जनामा आत्मीय र सरल ढङ्गले यसरी अभिव्यक्त गर्छन् कि ती प्रत्येकको साझा अनुभूति बनिदिन्छन् ।

साधारण शब्दको असाधारण प्रयोग गर्न माहिर गुलजारका कविताको केन्द्रमा भने प्रेम बसिरहेको हुन्छ । तर त्यो प्रेम केवल प्रणयको सुकोमल भावना मात्र होइन, सम्बन्धप्रतिको समर्पण, स्मृतिप्रतिको मोह र जीवनका प्रत्येक क्षणप्रतिको सम्मान हो । उनले प्रेमलाई कहिल्यै बोझिलो वा अमूर्त बनाउँदैनन् । बरू त्यसबाटै गहिरो सौन्दर्य निकाल्छन्, जसले पाठकलाई हुरुक्कै बनाउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय