नेभिगेशन
समाचार

मुनाल चोक सिटी सफारी समितिको मासिक भेला : समान भाडादर कायम र ट्राफिक नियमबारे चर्चा

चक्रघट्टी । असङ्गठित हुँदा सिटी सफारी (ई-रिक्सा) चालकहरूले दु:ख, झमेला, झैझगडा र कानुनी अड्चन भोग्दै आएका छन् । 

विभिन्न समस्या आइपरेपछि सङ्गठित भएका सुनसरीको वराहक्षेत्रस्थित चक्रघट्टीका १ सय भन्दा बढी ई-रिक्सा चालकहरूले दुई महिनामै दोस्रो भेला आयोजना गरेका छन् । 

सिटी सफारी चालकहरूले भेलामा मासिक ५ सय रुपैयाँ बचत गर्ने नियम बनाएका छन् । समितिका सदस्यहरलाई दु:ख पर्दा आर्थिक सहयोग गर्ने, आवश्यक भएका सदस्यहरू सहुलियतमा ॠण लगानी गर्ने नियम बनाएका छन् । असङ्गठित हुँदा जथाभावी र मनपरि सफारी चलाउनेहरू पनि सङ्गठित भएपछि पालोमा सवारी बोक्छन् । समितिले निश्चित भाडादर निर्धारण गरेको छ । सबै सङ्गठित सदस्य नियमको पालना गर्छन् । 

वराहक्षेत्र नगरपालिकाको केन्द्र चक्रघट्टीस्थित 'मुनाल चोक सिटी सफारी समिति' को दोस्रो भेलामा शुक्रबार अध्यक्ष विशाल श्रेष्ठले सदस्यहरूलाई समितिको नियममा रहेर सफारी चलाउन अनुरोध गरे । नियम नमान्ने सदस्यलाई कारबाही गर्ने समेत अध्यक्ष श्रेष्ठले चेतावनी दिए । 

सफारी चालकहरूको दोस्रो भेलाले बचत सङ्कलन गरेको छ । 
समान भाडा दर कायम गर्ने विषयमा उनीहरूले खुलेर छलफल र अन्तर्कृया गरेका छन् । समितिको नियम नजानेका सदस्यले मञ्चमा उभिएर माइकमा आफ्ना समस्या राखेका छन् । 

अध्यक्ष श्रेष्ठले सिटी सफारी चालकले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्ने बैठकमा बताए । उनले ऐन कानुनबारे नबुझेका कुरा छलफलमा सोध्न आग्रह गरे । उनले सदस्यहरूलाई सङ्गठित हुनुको महत्त्व बारे प्रकाश पारे ।  

आगामी बैठकमा सल्लाहकार समिति र ॠण समिति निर्माण गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले जिम्मेवारी लिन चाहाने सदस्यहरूलाई आफ्नो आकाङ्क्षा प्रस्तुत गर्न अनुरोध गरे । 

मुनाल चोक सिटी सफारी समितिमा १०६ जना चालकहरू आबद्ध छन् । बचत गर्नेको सङ्ख्या ९० जना रहेको सचिव स्थिरराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार आधिकारिक रुपमा दर्ता भएको समितिले चलकहरूको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रमलगायत सामाजिक सेवासमेतगर्ने उद्देश्य छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार