नेभिगेशन
समाचार

जगदगुरु महायोगी सिद्धबाबाको आध्यात्मिक जागरण क्यानडामा : ध्यान, योग र साधना यात्रा जारी

धरान । क्यानडामा आध्यात्मिक जागरण, ध्यान साधना र सनातन वैदिक ज्ञानको प्रवाह गर्ने उद्देश्यसहित जगद्गुरु महायोगी सिद्धबाबाको ‘हिमालयन सिद्ध महायोग मेडिटेशन टुर–२०२६’ जारी छ ।

जुन २७ देखि सुरु भएर अगस्ट ११ सम्म सञ्चालन हुने यस आध्यात्मिक यात्राअन्तर्गत एडमन्टन, क्याल्गरी, भ्यानकुभर, ओटावा र टोरन्टोलगायत विभिन्न सहरमा महायोग ध्यान प्रशिक्षण, आध्यात्मिक प्रवचन, योग साधना तथा आत्मजागरणसम्बन्धी विशेष कार्यक्रम भइरहेका छन् ।

आयोजकका अनुसार हिमालयका प्राचीन ऋषिमुनिहरूको ध्यान परम्परामा आधारित सिद्ध महायोगमार्फत सहभागीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी ध्यानको प्रत्यक्ष अनुभूति र आत्मिक रूपान्तरणतर्फ उन्मुख गराइनेछ ।

कार्यक्रममा धर्म, जाति र समुदायका आधारमा कुनै विभेद नगरी इच्छुक साधकलाई सहभागी गराइँदै आएको जनाइएको छ । सहभागीले शान्ति, आत्मबोध र आन्तरिक आनन्दको अनुभूति गर्ने अवसर पाउने आयोजकको दाबी छ । ध्यान कक्षामा सहभागी हुन चाहनेका लागि अग्रिम दर्ताको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार उक्त भ्रमण हिमालयको आध्यात्मिक ज्ञानलाई विश्वमञ्चसम्म पुर्‍याउने, विश्वशान्ति, मानव एकता र आध्यात्मिक चेतनाको विस्तार गर्ने अभियानका रूपमा अघि बढाइएको हो ।

 ‘हिमालयन मेडिटेशन एन्ड विज्डम टुर’ सुरु

नेपालको पवित्र हिमालयबाट शान्ति, ध्यान र विश्वव्यापी सद्भावको सन्देश बोकेको जगद्गुरु महायोगी सिद्धबाबाको ‘हिमालयन मेडिटेशन एन्ड विज्डम टुर’ गत जुन २७ देखि क्यानडामा सुरु भएको  हो ।

आयोजकका अनुसार अल्बर्टामा सम्पन्न उद्घाटन कार्यक्रम यस आध्यात्मिक यात्राको महत्वपूर्ण प्रारम्भ बनेको छ। शान्ति, ध्यान, आध्यात्मिक जागरण र सामूहिक चेतनाको उत्थानको भावनासहित आयोजित कार्यक्रममा विभिन्न समुदायका श्रद्धालुको सहभागिता थियो ।

उक्त कार्यक्रम ‘ट्रिटी–६ टेरिटोरी’अन्तर्गत पर्ने फर्स्ट नेशन्स समुदायका परम्परागत भूमि तथा मेटिस समुदायको मातृभूमिमा आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा ती भूमिको संरक्षण र संवर्द्धनमा पुस्तौँदेखि योगदान पुर्‍याउँदै आएका आदिवासी समुदायप्रति सम्मान व्यक्त गरिएको थियो ।

यस अवसरमा अल्बर्टाको आधिकारिक प्रतिपक्षका नेता तथा एडमन्टन–स्ट्राथकोना क्षेत्रका विधायक नइड नेन्सी र एडमन्टन–वेस्ट हेन्डे क्षेत्रका विधायक ब्रुक्स आर्कान्ड–पलको तर्फबाट सिद्धबाबालाई वैदिक दर्शनको शिक्षा तथा आध्यात्मिक जागरणमा पुर्‍याएको योगदानको कदरस्वरूप ‘सर्टिफिकेट अफ रिकग्निसन’ प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी, अल्बर्टा विधानसभाका सदस्य तथा आर्थिक करिडोर विकाससम्बन्धी संसदीय सचिव शेन गेट्सनले पनि शान्ति, ध्यान र विश्वव्यापी सद्भावका लागि समर्पित योगदानको सम्मानस्वरूप ‘साइटेसन अफ रिकग्निसन’ प्रदान गरेका थिए ।

आयोजकका अनुसार यो कार्यक्रम प्राचीन हिमालयन ज्ञान परम्परा र अल्बर्टाको बहुसांस्कृतिक समाजबीच आध्यात्मिक सेतुका रूपमा स्थापित भएको छ। क्यानडाभर सञ्चालन हुने यस अभियानमार्फत शान्ति, एकता, सद्भाव र मानवताको सन्देश अझ व्यापक बनाउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार