नेभिगेशन
आर्थिक

निष्क्रिय पाँच उद्योग बाहिरिँदा धरान औद्योगिक क्षेत्रमा ३५ करोडको नयाँ लगानी, ३५० लाई रोजगारी

धरान । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका पाँच उद्योगको लिज सम्झौता रद्द भएपछि त्यही स्थानमा पाँच नयाँ उद्योग भित्रिएका छन्। यससँगै औद्योगिक क्षेत्रमा करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी थपिएको छ भने ती उद्योग पूर्ण सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बन्जाडेका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरेको हो। निष्क्रिय उद्योग हटाइएपछि उत्पादनमुखी नयाँ उद्योगलाई स्थान दिइएको उनले बताए।

नयाँ थपिएका उद्योगमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि, जीडी स्टिल इन्डस्ट्रिज प्रालि, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स प्रालि र सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालि रहेका छन्। यद्यपि सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालिको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको बन्जाडेले जानकारी दिए।

यसअघि नेपाल न्यून नेटवर्क प्रालि, शुभम् वाटर इन्डस्ट्रिज प्रालि, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज प्रालि र कामना मल्टिफोर्ड इन्डस्ट्रिज प्रालिको लिज सम्झौता रद्द गरिएको थियो। बन्जाडेका अनुसार निष्क्रिय उद्योगको सम्पत्ति मूल्याङ्कन गरी कम्पनीको विनियमावलीअनुसार सार्वजनिक प्रस्ताव आह्वान तथा लिज हस्तान्तरण प्रक्रिया पूरा भएपछि नयाँ उद्योगसँग सम्झौता गरिएको हो।

सञ्चालनको तयारीमा रहेका नयाँ उद्योगमध्ये प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालिले पानीका मिटर तथा फिटिङ सामग्री उत्पादन गर्नेछ। जीडी स्टिल इन्डस्ट्रिज प्रालि र जेआर भेन्चर्स प्रालिले निर्माण सामग्री उत्पादन गर्नेछन् भने सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न र पशु आहार उत्पादन गर्नेछ। सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालिले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्ने तयारी गरेको छ।

बन्जाडेका अनुसार उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित नयाँ उद्योगसँग सम्झौता गरिएको हो। उनका अनुसार उद्योग सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूर्ति गर्नुका साथै केही वस्तु निर्यात गर्ने सम्भावना पनि रहनेछ।

धरान औद्योगिक क्षेत्रमा यसअघि पनि प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्।

भारत सरकारको सहयोगमा विसं २०२९ मङ्सिर २६ गते शिलान्यास भई विसं २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान उपमहानगरपालिका–८, तीनकुनेमा अवस्थित छ। २०२ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रमध्ये १४३ रोपनी १४ आना जग्गा भाडामा दिइएको छ भने करिब ५५ रोपनीभन्दा बढी जग्गा युटिलिटी सेवाका लागि प्रयोग गरिएको छ।

हाल धरान औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन्। तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन्। सञ्चालनमा रहेका उद्योगमा ८०० पुरुष र २०० महिला गरी एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट करिब रु २ अर्बभन्दा बढी र सरकारी क्षेत्रबाट करिब रु १ अर्ब ७० करोडभन्दा बढी लगानी रहेको कार्यालय प्रमुख बन्जाडेले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक