नेभिगेशन
Dashain Banner
Dashain Banner
शिक्षा

भारतको नागाल्याण्डमा भानु जयन्ती, धरानस्थित लोटस इङ्लिस स्कुलको सांस्कृतिक प्रस्तुति

धरान, ३० असार । भारतको नागाल्यान्डमा आयोजित २१२औँ भानु जयन्ती समारोहमा धरानस्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति दिएका छन् । सोही अवसरमा नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै स्कुलका प्रबन्ध निर्देशक गणेश राई सम्मानित भएका छन् ।

गोर्खा स्टुडेन्ट युनियन मोकोक्चुङको निमन्त्रणामा असार २९ गते (जुलाई १३) आयोजित कार्यक्रममा नेपाली विद्यार्थीले साकेला, कौडालगायत पाँचवटा नेपाली मौलिक गीतमा नृत्य प्रस्तुत गरे । 

कार्यक्रमको उद्घाटन आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पणसँगै गरिएको थियो। भानुभक्तको स्मृतिमा कविता वाचनसमेत गरिएको थियो।
कार्यक्रममा गोर्खा स्टुडेन्ट युनियन मोकोक्चुङका अध्यक्ष प्रभात राईले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालबाट सांस्कृतिक टोलीसहित कार्यक्रममा सहभागी भएको लोटस स्कुल परिवारप्रति आभार व्यक्त गरे ।

लोटस इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक गणेश राईले निमन्त्रणाका लागि आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आत्मीय स्वागत र सम्मानका लागि कृतज्ञता प्रकट गरे। कार्यक्रममा स्कुलकी प्रिन्सिपल सञ्जिता राईको पनि उपस्थिति थियो।

यसै अवसरमा गणेश राईले आफ्नी स्वर्गीय आमा मनमाया राईको स्मृतिमा स्थापना गरेको १५औँ ‘स्वर्गीय मनमाया राई मेरिट क्यास अवार्ड’ अन्तर्गत मोकोक्चुङ जिल्लामा उच्च माध्यमिक तहमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा विद्या मगरलाई १० हजार भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरे।
कार्यक्रमका महासचिव डा. फ्रान्सिस राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे।

गणेश राई सम्मानित

कार्यक्रमकै अवसरमा लोटस इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक गणेश राईलाई गोर्खा स्टुडेन्ट युनियन मोकोक्चुङले सम्मान गरेको छ।

नेपालबाट विद्यार्थीहरूको सांस्कृतिक टोली लिएर नागाल्यान्ड पुगेर नेपाली मौलिक कला, संस्कृति र पहिचानको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै युनियनका अध्यक्ष प्रभात राईले उनलाई खादा, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्।

आयोजकका अनुसार भानु जयन्तीको अवसरमा आयोजित यस सांस्कृतिक कार्यक्रमले सीमापार रहेका नेपालीभाषी समुदायबीच नेपाली भाषा, कला र संस्कृतिप्रतिको आत्मीय सम्बन्धलाई थप सुदृढ बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा