नेभिगेशन
समाचार

धरान उपमहानगरपालिकाका १२६ योजनाको भुक्तानी बाँकी, ६० करोड रुपैयाँ दायित्व सर्दै

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा १२६ वटा योजनाको भुक्तानी गर्न बाँकी देखिएको छ । 

आइतबार बसेको कार्यपालिका बैठकमा धरान उपमहानगरका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले यस्तो तथ्याङ्क प्रस्तुत गरेका छन् । 

धरान-१८ का वडाध्यक्ष प्रवीण राईले योजना तथा इन्जिनियरिङ महाशखाको कमिकमजोरीबारे कार्यपालिका बैठकमा टिप्पणी गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो । वडाध्यक्ष राईले आव २०८२/८३ मा योजना तथा विकास निर्माणमा स्वीकृत रकमबाट सञ्चालित योजनाको अवस्थाबारे कार्यपालिका बैठकमा कार्यवहाक नगर प्रमुख अइन्द्रविक्रम बेघालाई लिखित जवाफ माग गरेका थिए । उनले अफ्नो वडाका पूर्वाधार निर्माणअन्तर्गतको न्युरोड लाइन स्कुल मार्ग रिपिचिङ धरान-११/१८, ज्येष्ठ नागरिक भवन धरान-१८ वडा कार्यालय,
रत्नचोक- सुन्दर बजार रिपिचिङ धरान-१८/१७ र कम्फु टोल रिपिचिङको कामका बारेमा कार्यपालिका बैठकमा जवाफ माग गरे । 

जवाफ दिने क्रममा वरिष्ठ इन्जिनियर श्रेष्ठले घाटा बजेट बनेकाले दुई वर्षको काम एकै वर्षमा सक्नुपर्ने बाध्यता आइलागेकाले समस्या भएको बताए । उनले आर्थिक वर्ष २०८२/८३ मा ५ सय वटा बढी काम सम्पन्न गरेको बताए । 

'अझै पनि काम सकिएर अनुगमन गर्न बाँकी योजनाहरू ६८ वटा छन्, गत जेठ २२ गतेको कार्यपालिका बैठकले निर्णय गरेका ५८ योजनासहित १२६ वटा योजना रकम अभावले भुक्तानी गर्न बाँकी छ,' कार्यपालिका बैठकमा वरिष्ठ इन्जिनियर श्रेष्ठले भने, 'यो वर्ष करिब ६७ योजना ठेक्का निकालेका छौं ।' 

धरान उपमहानगरपालिकाको कार्यबोझ बढी भएकाले झट्टै सोध्ने बित्तिकै सबै कुरो भन्न नसकिएको हुनाले 'मिसकम्युनिकेसन' भएको हुनसक्ने उनले बताए । धरान-१८ का वडाध्यक्ष प्रवीण राईको प्रश्नको जवाफ दिँदै वरिष्ठ इन्जिनियर श्रेष्ठले सानातिना आयोजनालाई मर्ज गरेर टेण्डर निकालिरहेको बताए । 

उनले ठेक्का प्रक्रियामा जादा एउटा मात्र बोलपत्र आएको र लागत अनुमान भन्दा बढी पेश भएपछि मूल्याङ्कन समितिले ठेक्का प्रदान गर्न नसकेको बताए । दोस्रो १५ दिने सूचनामा पनि कसैले टेण्डर नहालेको उनले बताए । तेस्रो ठेक्काको म्याद साउन ५ गतेसम्म रहेकाले ठेक्का परेको खण्डमा काम सुरु हुने बताए । 

धरान उपमहानगरपालिका स्रोतका अनुसार आर्थिक वर्ष २०८२/८३ बाट आव २०८३/८४ मा ६० करोड रुपैयाँभन्दा बढी दायित्व सरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार