नेभिगेशन
समाचार

दुर्घटनामा घाइते सञ्चारकर्मीलाई निःशुल्क बिमाबाट ३२ हजार रुपैयाँ राहत

इटहरी । नयन मिडिया फाउन्डेसनले सञ्चालन गर्दै आएको निःशुल्क दुर्घटना बिमा कार्यक्रमअन्तर्गत दुर्घटनामा घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलका कर्मचारी रबिन्द्रकुमार चौधरीलाई ३२ हजार २ सय ५५ रुपैयाँ बिमा दाबीबापतको रकम हस्तान्तरण गरेको छ ।

बुधबार नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी र बिमा संयोजक देवराज पुरीले संयुक्त रूपमा चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले दुर्घटनापछि प्राप्त बिमा रकमले घाइते कर्मचारीलाई आर्थिक राहत पुगेको बताए । उनले सञ्चारकर्मीको सुरक्षालाई प्राथमिकतामा राखेर नयन मिडिया फाउन्डेसनले सञ्चालन गरेको निःशुल्क दुर्घटना बिमा कार्यक्रमको प्रशंसा गरे ।
यस्ता कार्यक्रमले सञ्चार क्षेत्रमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीको मनोबल बढाउनुका साथै पेसाप्रति थप सुरक्षा र आत्मविश्वास प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

फाउन्डेसनले हरेक वर्ष आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को अवसरमा सुनसरीमा कार्यरत सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बिमा गर्दै आएको छ ।
फाउन्डेसनका बिमा संयोजक देवराज पुरीका अनुसार चालु वर्ष सुनसरीका ३१४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरिएको छ ।

फाउन्डेसनले सञ्चारकर्मीको सुरक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको यो कार्यक्रमले दुर्घटनामा परेका पत्रकार तथा सञ्चारकर्मीलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै पत्रकारिता पेसाप्रति सुरक्षा, विश्वास र मनोबल अभिवृद्धि गर्न सहयोग पुगेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार