नेभिगेशन
समाचार

सप्तकोशीको चपेटामा श्रीलङ्का टप्पु, कटान नियन्त्रण गर्न गाउँले आफैं जुटे

श्रीलङ्का टप्पु (सुनसरी) । सुनसरीको वराहक्षेत्र-६ र ९ मा पर्ने श्रीलङ्का टप्पुस्थित चिलिया क्षेत्रमा सप्तकोशी नदीले तीव्र रुपमा कटान गरेपछि स्थानीय प्राकृतिक रुपमा बाँस र बालुवा भरिएका बोराले नियन्त्रण गर्न लागि परेका छन् । 1000223387-1784878267.jpg

विगत ६ दिनदेखि स्थानीय कटान नियन्त्रणमा अहोरात्र लागिपरेको सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीले बताए । 

कटान रोक्न १८ वटा स्पर बनाइएको छ । ९ वटा स्पर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । अन्य स्परसमेत नदीले कटान गरिरहेको माझीले बताए । सप्तकोशी नदीको कटान रोक्न सुरक्षा निकाय र उदयपुरको बेलका नगरपालिका र सुनसरीको वराहक्षेत्र नगरका संयन्त्रसमेत खटिएको स्थानीयले बताएका छन् । 

1000223392-1784878293.jpg
 

कटान नियन्त्रणका लागि स्थानीयले बाँसका घोचा किनारामा ५ देखि ८ फुटसम्म गाडेका छन् । नाइलनको डोरीले बाँधेर बालुवा भरेका बोरा कटान क्षेत्रमा भर्दै आएका छन् । '२/३ सय घना बाँस कोशीमा गाडी सकेका छौं । ५०/६० घना बाँस बगाएर लग्यो,' श्रमदानमा खटिएका नदी कटान नियन्त्रण समितिका सहसचिव मुस्कान राईले भने, 'जनशक्तिको अभाव छ, प्राकृतिक रुपले नै नदी नियन्त्रणको प्रयास गरिरहेका छौं ।'

६ दिनदेखि श्रमदानमार्फत कटान रोक्न लागिपरे पनि काम सुस्त गतिमा छ । जनशक्ति अभावका कारण कामलाई तीव्र गतिमा अगाडि बढाउन नसकेको स्थानीय बद्री राई बताउँछन् । कोशी नियन्त्रणमा बिहार सरकारले गर्दै आएको बेम्बोपाइलिङ (बाँस गाडेर बालुवाका बोरा भर्ने काम) प्रभावकारी होला भन्ने ठानेर त्यसैअनुसार काम गर्दै आएको राई बताउँछन् । 

1000223393-1784878324.jpg
 

सुनसरीको वराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँगको समन्वयमा बोरा र जाली उपलब्ध भएपछि गाउँलेहरू जुटेर निरन्तर ६ दिनदेखि कटान नियन्त्रणको काम गरेको उनको भनाइ छ ।

'जनश्रमदान थोरै भएको छ, कामले रफ्तार पाएको छैन, छिटोभन्दा छिटो काम गर्न सकिए टप्पुमा बसिन्छ भन्ने आश चाहिँ छ,' स्थानीय राई भन्छन्, 'नत्र भने गाह्रो गाह्रै छ ।'

1000223394-1784878353.jpg
 

श्रमदानमा आउने जनतालाई नास्ता पानी खुवाउनसमेत आर्थिक अभाव भएको उनले बताए । 'हिजोसम्म चाहिँ नगरपालिकाले खानेपानीको व्यवस्था गरिदिएको थियो, आज छैन, नगरपालिकाका प्रतिनिधि आज १२ बज्दासमेत आइपुगेका छैनन्,'  राईले भने, 'वराहक्षेत्र नगरपालिकाले जेसिबी र ट्र्याक्टर पठाइदिएको छ, बालुवा थुपारेर बोरा बाँध्नुपर्न छ, काम धेरै छ ।'

सप्तकोशीको पानीको वहाव बढ्ने बित्तिकै सतह नाघेर जाने सम्भावना रहेको स्थानीय बताउँछन् । त्यसलाई रोकथाम गर्न तटबन्ध गर्नुपर्ने अवस्था छ ।
'योभन्दा अघि पनि बिहार सरकारले बोरा भर्नु लायो तर कर्मचारी छाडेर भागे,' स्थानीय बद्री राईले भने, 'हामीलाई माथिबाट अदेशै आको छैन भन्दैछन्, कोशी प्रोजेक्टका स्टाफहरूले, हामी आफैं खटिरहेका छौं ।' 

वराहक्षेत्र नगरपालिकाले कटानको दीर्घकालीन समाधानका लागि कोशी परियोजना, जिल्ला प्रशासन कार्यालय र भारतीय पक्षसँग समन्वय भइरहेको बताए पनि स्थानीयले भने भारत सरकारले चासो नदिएको बताउँदै आएका छन् । 

1000223395-1784878380.jpg
 

२०४५ सालमा सप्तकोशी नदीले धार परिवर्तन गरेपछि नदी पूर्वतर्फ बग्दै आएको छ । कोशी नदीले धार परिवर्तन गरेपछि विशाल क्षेत्रफल नदी उकास जग्गाका रुपमा परिणत भएको छ ।  श्रीलङ्का टापु सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ तथा उदयपुरको बेलका नगरपालिका २ र ३ मा फैलिएको छ । तीन हजार जनसङ्ख्या रहेको टप्पुमा अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर छन् । मकै, धान, सब्जी खेती, पशुपालन र दूग्ध उत्पादन यहाँका किसानको आम्दानीको मुख्य स्रोत हो । सप्तकोशी नदीले वर्षामा बर्सेनि कटान गर्नाले स्थानीय त्रसित छन् भने खेतीयोग्य जमीन बग्दै गएको छ । बस्ती जोखिममा पर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार