नेभिगेशन
समाचार

चतरा हाइकिङको २०४औं शृङ्खलामा शिक्षादीप एकेडेमीका विद्यार्थीको पदयात्रा

चतरा (सुनसरी) शनिबार बिहानको सात बजे सुनसरीको इटहरीस्थित शिक्षादीप एकेडेमीका विद्यार्थी चतरा मठस्थित औलिया गद्दीमा आइपुगे । २ वटा बसमा ८० जनाको सङ्ख्यामा आएका विद्यार्थीले औलिया बाबाको दर्शन गरे । उनीहरूको लक्ष्य थियो औलिया मठ- छिन्नमस्ता मन्दिर- मुन्दुम पदमार्ग हुँदै लालकोट गढी- सूर्यकुण्ड-  चियाबारी-कटहरे हुँदै एउटा 'पदयात्रा चक्र' पूरा गर्ने । 

चतरा हाइकिङका संस्थापक भीषण राईले अढाई सय वर्षअघिको  पुरातात्त्विक महत्त्व बोकेको औलिया मठस्थित विशाल वरवृक्षमा उभिएर हाइकिङका नियमबारे बेलिविस्तार लगाए । औलिया मठ/ वराहक्षेत्र अस्थानका महन्त विनायक पुरीजी महाराजले विद्यार्थीलाई आशीर्वादसहित मठको ऐतिहासिकताबारे जानकारी गराए । यो क्रम पूरा भएपछि विद्यार्थीको टोलीले सुरु गर्‍यो शनिबारे पदयात्रा ।

धार्मिक तीर्थको केन्द्र वराहक्षेत्रका ऐतिहासिक, पुरातात्विक र धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न सुरु गरिएको चतरा हाइकिङ अभियान ४ वर्ष लागेको छ  । यो पदयात्राको शनिबार २०४औं शृङ्खला पूरा हुँदै थियो । 

स्थानीय पत्रकारहरूको सक्रियतामा सुरु भएको चतरा हाइकिङ समूहले हाइकिङका नयाँ गन्तव्यको खोजीसँगै स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले हाइकिङ यात्रा आयोजना गर्दै आएको छ ।

1000223687-1784989214.jpg
विशेषगरी शनिबार आयोजना गरिने यो पदयात्राले सुनसरीको चतरामा बिहान भेला भएर ३ किलोमिटरदेखि १० किलोमिटरसम्म पदयात्राका लागि पदमार्ग पहिचान गरेको छ । आधा दर्जन बढी गन्तव्यलाई चतरा हाइकिङले प्रवर्धन गर्दै आएको छ । यी गन्तव्यमा ऐतिहासिक किल्ला, दरबार, मन्दिरलगायतका धार्मिक क्षेत्रको प्रवर्धन गर्ने उद्देश्य  छ । 

शनिबारको बिहान । चतरा मठबाट पदयात्रा उकालो लाग्यो ।पहिलो पटक पदयात्रामा निस्किएका विद्यार्थी उत्साहित देखिए । वराहक्षेत्रका प्रकृति, इतिहास र संस्कृतिसँग साक्षात्कार गर्दै पदयात्रा अगाडि बढ्यो ।

निरन्तर प्रत्येक शनिबार आयोजना हुँदै आएको यो अभियान अहिले पदयात्राको नियमित कार्यक्रम मात्र होइन, वराहक्षेत्रका ओझेलमा परेका धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदालाई चिनाउने अभियान बनेको छ ।

1000223697-1784989533.jpg
सुरुआतमा थोरै साथीभाइसँग हिँडेको यात्रा अहिले सयौँ पदयात्रीलाई आकर्षित गर्ने अभियानमा रूपान्तरण भएको छ। हरेक साताको यात्राले नयाँ अनुहार थपिरहेको छ भने पुराना सहभागीलाई पनि नयाँ अनुभव दिइरहेको छ ।

वराहक्षेत्रलाई मन्दिर र तीर्थमा सीमित नराखी यस क्षेत्रको प्राकृतिक सौन्दर्य, ऐतिहासिक गढी, पुराना दरबार, गुफा र गाउँबस्तीलाई पर्यटनसँग जोड्ने सोचबाट अभियान सुरु गरिएको हो ।

पहिलो पटक चतराको खारखोलाबाट कटहरे, चियाबारी, सूर्यकुण्ड हुँदै लालकोट गढीसम्मको करिब आठ किलोमिटर पदमार्गमा यात्रा गरिएको थियो। त्यसपछि समूहले स्थानीयको सहयोग र आफ्नै खोजबिनबाट नयाँ–नयाँ पदमार्ग पहिचान गर्दै यात्रा विस्तार गरेको छ । चतरा हाइकिङले आधा दर्जनभन्दा बढी पदमार्गलाई नियमित रूपमा प्रवर्द्धन गरिरहेको छ। झण्डाचोक, बान्द्रे चौरी, अर्चले, लालकोट गढी, मिलनचोक, फूलबारी, औलिया मठ, छिन्नमस्ता, हिन्दूपती दरबार, बागदलबारी, खप्तपुर, झाँक्री गुफा, जुगपाख्री, भवानीथान र वराहक्षेत्र मन्दिर जोड्ने पदमार्ग अहिले आन्तरिक पर्यटकका आकर्षक गन्तव्य बनेका छन्।

1000223700-1784989641.jpg
यी पदमार्गमा हिँड्दा यात्रुले जंगलको शीतलता महसुस गर्छन्। उकालो चढ्दै जाँदा पहाडी क्षेत्रको अनुभव । तल सप्तकोशी नदी विशाल फन्को मारेर बगिरहेको देखिन्छ । तराईका हरिया खेत, पहाडी बस्ती र वनजंगलले एउटै फ्रेममा समेटिएको दृश्यले यात्राको थकान बिर्साइदिन्छ ।

"यहाँ  पदमार्ग मात्र देखेनौँ, यहाँ लुकेका इतिहास पनि चिन्ने अवसर पायौं । लालकोट गढी, हिन्दूपती दरबार, सूर्यकुण्ड, जस्ता स्थानमा पुग्दा विद्यार्थीले किताबमा पढेको इतिहास आफ्नै आँखाले देख्न पाए," शिक्षादीप एकेडेमीका प्रधानाध्यापक सहदेव काफ्लेले भने । 

उनका अनुसार यात्राका क्रममा स्थानीय समुदायसँग भेटघाट हुन्छ। गाउँघरमा पाक्ने रैथाने परिकारको स्वाद चाख्न पायौं । पुराना संस्कार, जीवनशैली र स्थानीय कथाहरू सुन्न पाइन्छ। यसले यात्रालाई प्रकृति घुम्ने कार्यक्रमभन्दा धेरै फराकिलो बनाएको छ।

पछिल्लो समय कोशी पुलबाट खप्तपुर, झाँक्री गुफा, जुगपाख्री हुँदै लालकोट गढीसम्मको नयाँ पदमार्ग पनि थपिएको छ। यस मार्गमा आयोजित पछिल्लो पदयात्रामा करिब १५० जना सहभागी भएका थिए। सहभागीको उत्साह अपेक्षाभन्दा धेरै भएपछि तयारी गरिएका एक सय वटा टी–सर्टसमेत अपुग भएको संस्थापक भीषण राई बताउँछन्।

यस वर्षको यात्रालाई "कोशी पर्यटन वर्ष २०८२ सफल पारौँ" भन्ने अभियानसँग पनि जोडिएको छ। स्थानीय पर्यटनलाई राष्ट्रिय अभियानसँग गाँस्ने प्रयासस्वरूप हरेक पदयात्रामा नयाँ सहभागी थपिँदै गएका छन् ।

1000223704-1784989854.jpg
चतरा हाइकिङले पहिचान गरेका कतिपय पदमार्ग अहिले सरकारी योजनामा समेत समेटिएका छन्। छिन्नमस्ता मन्दिरदेखि जुगपाख्री हुँदै भवानीथान गढीसम्म पदमार्ग निर्माणको काम अघि बढिरहेको छ। स्थानीय, प्रदेश र सङ्घीय सरकारसँगै स्वीस सरकारको सहयोगमा निर्माण भइरहेको मुन्धुम ट्रेलका केही संरचना निर्माणमा पनि चतरा हाइकिङ समूहले सहजीकरण गरेको थियो।

"पर्यटनको विकास ठूला लगानीबाट मात्र हुँदैन, आफ्नो गाउँ, आफ्नो इतिहास र आफ्नो सम्पदालाई माया गर्ने केही मानिसको निरन्तर प्रयासले पनि नयाँ गन्तव्य जन्माउन सक्छ भन्ने महसुस भएको शिक्षादीप एकेडेमीका लेखापाल सन्तोष ढकाल बताउँछन् । चतरा हाइकिङले प्रत्येक शनिबार पदयात्रा मात्रै अघि बढाएको छैन, वराहक्षेत्रको इतिहास, संस्कृति, प्रकृति र पर्यटनलाई पनि नयाँ पुस्तासम्म पुर्‍याउने बाटो बनाइरहेको छ ।

चतरा हाइकिङले पहिचान गरेको रुट छिन्नमस्ता मन्दिर जुगपाख्री हुँदै भवानी थान गढीसम्मलाई विगत २ आर्थिक वर्षदेखि पदमार्गमा आधारित परियोजनाले लगानी गरिरहेको छ ।

स्थानीय, प्रदेश, सङ्घीय सरकार र स्वीस सरकारको बजेटमा निर्माणाधीन मुन्धुम ट्रेलको भौतिक संरचनाको निर्माण चतरा हाइकिङ समूहको सहजीकरणमा सुरु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार