नेभिगेशन
समाचार

सप्तकोशी किनारमा सुख्खाबाट जुधिरहेका किसान, ४० बिघा जग्गा सिंचाइविहीन

वराहक्षेत्र (सुनसरी) । सप्तकोशी नदी किनारमा रहेको वराहक्षेत्र-८ र ६ को सीमामा रहेको शुक्रबारेका किसान मध्ये बर्खामा सुख्खासँग जुधिरहेका छन् । 

२०८१ सालमा स्थापना गरिएको खनियाधार डिपबोरिङ सिंचाइ आयोजना गत असार अन्तिममा बिग्रिएपछि झण्डै ४० बिघा जग्गामा सिंचाइको अभाव भएको छ । उक्त स्थानमा जडान गरिएको ५० केभीए ट्रान्सफर्मर बिग्रिएपछि ४० बिघा खेतमा सिँचाइ संकटमा परेको छ । 

स्थानीयले मोटरले पानी पटाएर धान रोपे पनि  किसानको खेतका बीउ अहिले धुलौटे माटोमा सुकिरहेको दर्पण अर्गानिक कृषि रिसर्च प्रालिका सञ्चालक पिताम्बर चाम्लिङले गुनासो गरे । डिप बोरिङ बिग्रिएपछि स्थानीय वराहक्षेत्र नगरपालिकामा निवेदन लिएर पुगे । नगरपालिकाले प्रदेश सरकारलाई सिफारिस गर्‍यो ।  

वराहक्षेत्र नगरपालिकाले वडा नं. ८ स्थित खनियाधार डिप बोरिङमा जडान गरिएको ट्रान्सफर्मर बिग्रिएपछि प्रभावित सिँचाइ प्रणाली सञ्चालनका लागि तत्काल मर्मत वा प्रतिस्थापनको व्यवस्था गर्न कोशी प्रदेश सरकारसँग आग्रह गरे ।

नगरपालिकाले कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयलाई पत्राचार गर्दै २०७१ साल जेठदेखि सञ्चालनमा रहेको उक्त डिप बोरिङबाट करिब ४० बिघा कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको उल्लेख  छ । यसबाट साना तथा मझौला किसान प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका थिए ।

लामो समयदेखि विद्युत आपूर्तिमा समस्या देखिँदै आएको र गत असार ३१ गते डिप बोरिङमा जडान गरिएको ५० केभीए क्षमताको ट्रान्सफर्मर जलेपछि सिँचाइ सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

डिप बोरिङ समिति आर्थिक रूपमा कमजोर रहेकाले ट्रान्सफर्मर मर्मत वा नयाँ जडानका लागि आवश्यक खर्च व्यहोर्न सक्ने अवस्थामा नरहेको स्थानीय कृषक चाम्लिङले बताए । समयमै समस्या समाधान नभए किसान सिँचाइ सुविधाबाट वञ्चित हुने, खेतीपातीमा प्रतिकूल असर पर्ने र कृषि उत्पादनमा उल्लेखनीय क्षति पुग्ने जोखिम छ ।

खनियाधार डिप बोरिङमा जडान रहेको ५० केभीए क्षमताको ट्रान्सफर्मरको मर्मत वा प्रतिस्थापनका लागि आवश्यक व्यवस्था तत्काल मिलाइदिन वराहक्षेत्र नगरपालिकाले मन्त्रालयसँग अनुरोध गरे पनि हालसम्म कुनै प्रक्रिया अघि नबढेको किसानले गुनासो गरेका छन् ।

ट्रान्सफर्मर समृद्ध तराई मधेश विशेष कार्यक्रमबाट जडान भई सञ्चालनमा आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार