नेभिगेशन
समाचार

सुनसरीका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

दुई समूहबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु, २१ जना घाइते

सुनसरी । बोलबम यात्राको तयारीका क्रममा सुरु भएको सामान्य विवाद हिंसात्मक बनेपछि सुनसरीका हरिनगर र देवानगञ्ज गाउँपालिकाका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । 

झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

प्रहरीका अनुसार आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा रातिको समयमा होहल्ला भएको भन्दै अर्को समूहले विरोध गरेपछि दुवै पक्षबीच विवाद सुरु भएको थियो। विवाद चर्किएर झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा प्रदर्शनकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जना स्थानीय, ८ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरीका जवान रहेका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु आदेश जारी गरेका हुन्। आदेशअनुसार कफ्र्यु अवधिभर सम्बन्धित क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा अन्य सामूहिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार हरिनगर गाउँपालिकाको हरिनगरा, भुटाहा र घुस्की बजार तथा देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्रमा कफ्र्यु लागू गरिएको छ। प्रत्येक क्षेत्रमा पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फको स्पष्ट सीमा निर्धारण गरिएको छ।

हरिनगरा बजारमा पूर्वतर्फ नूनिया टोल, पश्चिमतर्फ खुनिया धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ बसन्तपुर मोडसम्म कफ्र्यु लागू गरिएको छ। भुटाहा बजारमा पूर्वतर्फ मोरिया धार खोला, पश्चिमतर्फ इदगाह फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ गाउँपालिका कार्यालयसम्म कफ्र्यु कायम गरिएको छ।

घुस्की बजारमा पूर्वतर्फ कासमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी, उत्तरतर्फ इशा हार्डवेयर र दक्षिणतर्फ हिलाल पब्लिक स्कुलसम्म कफ्र्यु लागू गरिएको छ। कप्तानगञ्ज बजारमा पूर्वतर्फ यादव टोल, पश्चिमतर्फ पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरतर्फ कृष्ण माध्यमिक विद्यालय र दक्षिणतर्फ नेपाल–भारत सीमासम्म तथा देवानगञ्ज बजारमा पूर्वतर्फ मुसहर टोल, पश्चिमतर्फ मोरिया खोला, उत्तरतर्फ चिउरा मिल र दक्षिणतर्फ गाउँपालिका कार्यालयसम्म कफ्र्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, कफ्र्यु आदेशको पूर्ण पालना गर्न र शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। आवश्यकता अनुसार कफ्र्युको क्षेत्र र अवधि हेरफेर गर्न सकिने प्रशासनले जनाएको छ। सोमबार बिहानसम्म कप्तानगञ्ज क्षेत्रको अवस्था नियन्त्रणमा रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार